कार्यालय जले पनि धर्मशालाबाटै नागरिकलाई प्रहरी सेवा

गौशालास्थित धर्मशालाको वातावरण ब्यारेक प्रणालीका लागि उपयुक्त छैन । प्रहरीलाई ड्युटीमा खटिन असजिलो छ ।

कार्तिक १६, २०८२

विवेक पोख्रेल

Police service to citizens from Dharamshala even after office burns down

काठमाडौँ — धर्मशालाभित्र 'युनिफर्म'मै बाक्लो संख्यामा प्रहरी छन् । मानिसको भिड पनि कम देखिन्न । कोही धर्मशालामा आश्रय लिन आएका छन् त कोही आफ्ना गुनासो बोकेर प्रहरी भेट्न । केही प्रहरी भने धर्मशालामा आराम गरिरहेका छन् । 

पशुपति प्रवेशद्वार नजिकको प्रहरी वृत्त गौशालाको भवन भदौ २४ को प्रदर्शनका क्रममा आगजनी भएपछि यहाँका प्रहरीहरूले धर्मशालाबाट नै सेवा दिइरहेका छन् । 

आगलागीपछि प्रहरीले भवनअघि अस्थायी सहायता कक्ष राखेर तत्कालका आवश्यक कामकाज थालेको छ । प्रहरीले अहिले धर्मशालाभित्रबाट नै उजुरी सुन्ने, दर्ता गर्ने र नियमित कामकाज गरिरहेको छ । ठाउँ अभावका कारण पक्राउ परेका व्यक्तिलाई भने प्रहरीले यहाँबाट सिधै काठमाडौं प्रहरी परिसर लैजान्छ ।

वृत्तको मुख्य भवनसँगै रहेका सहायक संरचना पनि क्षतिग्रस्त भएपछि हाल पुनर्निर्माणको काम भइरहेको छ । मुख्य भवन प्राविधिकले प्रबलीकरण गरेर प्रयोग गर्न सकिने निष्कर्ष दिएपछि खर्च धेरै लाग्ने भएका कारण स्थानीयको सहयोगमा मर्मत सुरु हुँदै छ ।   Police service to citizens from Dharamshala even after office burns down

आगजनीका दिन प्रहरीहरूले यो संरचना जोगाउन धेरै प्रयास गरेका थिए । माइकिङ गर्दै भिडलाई सम्झाउने, तोडफोड नगर्न अनुरोध गर्ने प्रयास गरे पनि भिड आक्रामक बनेपछि यहाँका एक प्रहरी घाइतेसमेत भए । प्रदर्शनकारीले प्रहरी र प्रहरी वृत्तमा ढुंगामुढा र आगजनी मात्र गरेनन्, प्रहरीको हतियार समेत लुटे । प्रदर्शनकारीको आक्रामक भिड नियन्त्रण लिन नसकेपछि वृत्त छाडेर प्रहरी अस्थायी रूपमा विमानस्थलभित्र बसे । तर, केही समयमै उनीहरू पुनः फर्किएर जनसेवामा जुटेका छन् ।

विभिन्न संघसंस्थाको सहयोगमा हाल अस्थायी टहरा निर्माण भइरहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश श्रीमल बताउँछन् । ‘हामीले अहिले धर्मशालाबाटै नागरिकलाई सेवा दिइरहेका छौं,’ उनले भने, ‘तर धर्मशालाको वातावरण ब्यारेक प्रणालीका लागि उपयुक्त छैन । प्रहरीलाई ड्युटीमा खटिन असजिलो भएको छ । यो अवस्था छिट्टै सुधार हुन्छ भन्ने आशा छ ।’

Police service to citizens from Dharamshala even after office burns down

उनका अनुसार वृत्तमा अहिले अस्थायी टहरा निर्माणलाई तीव्रता दिइएको छ ।  एक साताभित्रै यहाँबाट सेवा सञ्चालन गर्ने तयारी हुँदैछ । धर्मशालामा बस्दा प्रहरीहरूलाई आफ्नो सामग्रीको सुरक्षा र गोपनीयता सुनिश्चित गर्न कठिनाइ भएको छ । ‘एउटा कोठामा हामी हुन्छौं, अर्कोमा सर्वसाधारण । आफनो सामान र फाइल सुरक्षित राख्न समस्या छ,’ एक प्रहरीले कान्तिपुरसँग भने । 

आगलागीमा कम्युटरसहितका उपकरण जलेकाले प्रहरीलाई सेवा दिनसमेत असहज भएको छ । ‘सीमित स्रोत र साधन मात्र हामीसँग छ । भवन क्षतिग्रस्त भएपछि अभिलेख व्यवस्थापन पनि चुनौती बनेको छ,’ एक प्रहरी जवानले भने, ‘फाइल सुरक्षित राख्न नसक्दा कार्य सञ्चालनमा असुविधा भएको छ ।’

Police service to citizens from Dharamshala even after office burns down

जेन–जी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिका कारण काठमाडौं उपत्यकाका क्षति पुगेका मध्ये १८ प्रहरी कार्यालयको अवस्था अझै दयनीय छ । उनीहरुले आफ्नै पुरानो कार्यालयबाट सेवा सुरु गर्न सकेका छैनन् । कोही वडा कार्यालय त कोही सार्वजनिक भवन र कोही जोखिम मोलेर जलेकै कार्यलयबाट सेवा दिइरहेका छन् । 

विवेक पोख्रेल विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully