प्रहरी कार्यालयबाट चोरेको पेस्तोल १ लाखमा बिक्री

जेन-जी आन्दोलनपछि २४ भदौमा मच्चिएको विध्वंसका बेला पेस्तोल लुट्ने, बेच्ने र खरिद गर्ने काममा संलग्न ५ जना पक्राउ परेका छन् ।

कार्तिक १६, २०८२

कान्तिपुर संवाददाता

Pistol stolen from police office sold for Rs. 100,000

काठमाडौँ — जेन-जी आन्दोलनपछि २४ भदौमा मच्चिएको विध्वंसका बेला प्रहरी वृत्त, स्वयम्भूबाट पेस्तोल चोरी गरेर बिक्री गर्ने गिरोह समातिएको छ ।

हातहतियार विक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ५ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा धादिङ घर भई काठमाडौं–१५ मा बस्दै आएका २१ वर्षीय कृष्ण गुरुङ, भगवानपाउ बस्ने २५ वर्षीय राजन देउला, भारतीय नागरिक २४ वर्षीय अकबर खान, विजेश्वरी बस्ने २६ वर्षीय सुमिन शाक्य र क्षेत्रपाटीमा पसल चलाउँदै आएका ३८ वर्षीय प्रभात मल्ल छन् ।

प्रहरी वृत्त, स्वयम्भूका डीएसपी मोहनमणि अधिकारीका अनुसार गुरुङले २४ भदौमा पेस्तोल लुटेर लगेको पाइएको छ । उनीबाट देउलाले पेस्तोल लगेको अनुसन्धानका क्रममा खुलेको छ । ‘देउवाबाट अकबर खानले लिएर बिक्री गर्न ग्राहक खोजेको पाइएको छ,’ उनले भने, ‘उनीमार्फत शाक्यले ६५ हजार रुपैयाँमा खरिद गरेको भेटिएको छ ।’

यसरी खरिद गरेको पेस्तोल शाक्यले फेरि प्रभात मल्ललाई १ लाख रुपैयाँमा बिक्री गरेको पाइएको छ । ‘पसलको चेन्जिङ रुममा कपडाले बेरेर लुकाएको अवस्थामा बरामद भएको छ,’ अधिकारीले भने ।

प्रहरीले म्याग्जिन, त्यसमा लाग्ने १५ वटा गोलीसमेत बरामद गरेको छ । उनीहरुविरुद्ध हातहतियार तथा खरखजाना ऐनअनुसार कारबाही प्रक्रिया अघि बढ्नेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully