मध्यपुरथिमी नगरपालिका–९ निकोसेरा ढुङ्गेधाराका कृष्ण भक्त कासुलाको घरमा शुक्रबार लुटपाट गर्ने ४ जनासहित ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए।
भक्तपुर — भक्तपुरमा चोरी र लुटपाटमा संलग्नसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार मध्यपुरथिमी नगरपालिका–९ निकोसेरा ढुङ्गेधाराका कृष्ण भक्त कासुलाको घरमा लुटपाट गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। अन्य दुई जना फरार कैदीबन्दीहरू पनि पक्राउ परेका छन्।
प्रहरीका अनुसार चोरहरू घरको झ्यालबाट प्रवेश गरी ७६ वर्षीय कासुलाको टाउकोमा दाउराको चिर्पटले प्रहार गरी घाइते बनाएर लुटपाट गरी फरार भएका थिए।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुका अनुसार घाइते कासुलाको काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचार भइरहेको छ। प्रहरीले काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ घर भई हाल भक्तपुरको कमलविनायक बस्ने २७ वर्षीय बिक्रम थापा, रोशी गाउँपालिका–१ घर भई सोही स्थानमा बस्ने ३० वर्षीय रामबहादुर तामाङ, रोल्पाको परिवर्तन गाउँपालिका–४ घर भई हाल कमलविनायक बस्ने ४३ वर्षीय लोकेन्द्र पुन र उदयपुरको बेलटार घर भई हाल भक्तपुरको कमलविनायक बस्ने ४० वर्षीय राजु राईलाई पक्राउ गरेको हो। आरोपी थापा र तामाङ विगतमा पनि चोरी, लुटपाट र लागूऔषध अपराधमा संलग्न रहेको खुलेको छ।
त्यस्तै, जेन-जी आन्दोलनको क्रममा थिमी प्रहरी वृत्तको हिरासतबाट फरार एक कैदी पनि पक्राउ परेको प्रहरीले जनाएको छ। मध्यपुरथिमी नगरपालिका–३ गठ्ठाघर बस्ने ३० वर्षीय निकेश राउतलाई प्रहरीले पक्राउ गरेको हो। आन्दोलनमा कारागारबाट फरार भएका अर्का एक जना कैदी पनि पक्राउ परेका छन्।
