भक्तपुरमा १० जनालाई पक्राउ गरी हाजिरी जमानीमा छोडियो

भदौ २४ को प्रदर्शनमा सहभागी भएका उनीहरूको शंकस्पद गतिविधिका आधारमा प्रहरी पक्राउ गरी सोधपुछ पछि हाजिरी जमानीमा छोडेको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

कार्तिक ८, २०८२

सुन्दर शिल्पकार

10 people arrested in Bhaktapur and released on bail

भक्तपुर — भदौ २४ को प्रदर्शनपछि भक्तपुरमा हालसम्म १० जनालाई पक्राउ गरी हाजिरी जमानीमा छोडेको प्रहरीले जनाएको छ । प्रदर्शनमा सहभागी उनीहरूको शंकस्पद गतिविधिका आधारमा प्रहरी पक्राउ गरी सोधपुछ पछि हाजिरी जमानीमा छोडेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुले जानकारी दिए ।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएका घटनाको विषयमा छानबिन गरिरहेको तथा गृह मन्त्रालय र विभागबाट के कस्तो कारबाही गर्ने भन्ने विषयमा स्पष्ट निर्देशन नआएका कारण पक्राउ गरिएका १० जना व्यक्तिहरूलाई हाजिरी जमानीमा छोडेको उनले बताए । १० जना व्यक्तिहरू प्रदर्शनमा सहभागी भएको तर आगजनी, तोडफोड तथा प्रहरीको हातहतियार लुटपातमा संलग्नता नरहेको प्रहरी नायब उपरिक्षक जबेगुले बताए । आन्दोलनका क्रममा आगजनी तथा तोडफोड गर्ने तथा प्रहरीको हातहतियार लुटपाट गर्नेहरू माथि भने सामाजिक सञ्जालका भिडियो तथा सीसीटिभी क्यामेराको भिडियोका आधारमा निगरानी बढाएको उनले जानकारी दिएको छ । 

भदौ २४ को प्रदर्शनमा भक्तपुरको जगाति प्रहरी वृत्तमा आगजनी र तोडफोड गरी हातहतियारहरू लुटिएका थिए ।  

सुन्दर

Link copied successfully