काठमाडौँ उपत्यकामा मापसे जाँचमा कडाइ

उपत्यकामा विगतका वर्षहरूमा चाडपर्वका समयमा हुने सवारी दुर्घटनामा मादक पदार्थ सेवन प्रमुख कारण मानिँदै आएकाले यस वर्ष ट्राफिक प्रहरीले विशेष सतर्कता अपनाएको हो ।

कार्तिक ६, २०८२

रासस

Stricter alcohol testing in Kathmandu Valley

काठमाडौँ — काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) विरुद्ध विशेष अभियान सञ्चालन गरेको छ । 

उपत्यकामा विगतका वर्षहरूमा चाडपर्वका समयमा हुने सवारी दुर्घटनामा मादक पदार्थ सेवन प्रमुख कारण मानिँदै आएकाले यस वर्ष ट्राफिक प्रहरीले विशेष सतर्कता अपनाएको हो । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीको निर्देशनमा जनपद तथा ट्राफिक प्रहरीले आज बिहानैदेखि रातिसम्म उपत्यकाका मुख्य चोक, सडक र गल्लीमा मापसे परीक्षण गरी कडाइका साथ अनुगमन गरिरहेको छ ।

चाडपर्व सुरक्षित, मर्यादित र अनुशासित बनोस् भन्ने प्रहरीको अपेक्षा अनुसार आज दिनभरी जनपद तथा ट्राफिक प्रहरी सडकमा खटिएको उनले बताए ।

उक्त अभियानमा उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी आफै खटिएका छन् । उनले टोलीसहित त्रिपुरेश्वर, नयाँबानेश्वर, कलंकी, दरबारमार्ग, महाराजगन्ज, गौशाला, चाबहिल, बल्खुलगायतका क्षेत्रमा निरीक्षण चालकहरूको मापसे परीक्षण गरेका थिए ।

भाइटीकाको दिन काठमाडौं उपत्यकाभर सवारी चालकले मादक पदार्थ सेवन गरी गाडी चलाएको वा नगरेको विषयमा सयौँ सवारीसाधनका चालकको परीक्षण गरिएको प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले बताए । 

ट्राफिक प्रहरीले दसैँ, तिहारजस्ता पर्वमा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने प्रवृत्ति रोक्न गत वर्षभन्दा यस वर्ष थप कडाइ गरेको  छ । उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले ‘मापसे नगरी सवारी चलाऔँ, सुरक्षित यात्रामा सबैको साथ दिऔँ’ नारासहित सडक प्रयोगकर्तामाझ सचेतनामूलक पर्चा वितरण र माइकिङसमेत गरेको थियो ।

रासस

Link copied successfully