नेपाल संवत् ११४६ को अवसरमा आज बिहान सांस्कृति भिन्तुना र्याली निकालेर भक्तपुर नगर परिक्रमा गरिएको हो ।
भक्तपुर — भक्तपुर नगरपालिकामा आज नेपाल संवत् ११४६ को अवसरमा र्याली निकालिएको छ । नेपाल भाषा साहित्य तः मुंज्याले नेपाल संवत् ११४६ को अवसरमा बिहान सांस्कृति भिन्तुना(नयाँ वर्ष) र्याली निकालेर भक्तपुर नगर परिक्रमा गरेको थियो ।
भिन्तुना र्यालीमा सहभागीहरुले परम्परागत नेवारी पोसाक, धिमेबाजा, बाँसुरी बाजा, धाँ बाजासहित नेपाल संवत् ११४६ को शुभकामना र्याली निकालिएको थियो ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको पात्रो अनुसार भोलि बुधबारबाट मात्रै नेपाल संवत् ११४६ को शुभारम्भ हुन्छ । भक्तपुर नगरबाहेक देशका अन्य स्थानहरुमा भोलि नेपाल संम्वत्को अवसरमा विभिन्न कार्यक्रम गरी भिन्तुना र्यालीसहित नयाँ वर्ष मनाइँदै छ ।
तिथिमा भएको घटबढका कारण अन्योल भएपछि नगरपालिकामा तलेजुका पुजारीहरु तथा ज्योतिषहरू डा. वीरेन्द्रप्रसाद कायष्ठ र केदारप्रसाद दैवज्ञ जोशीसहितको उपस्थितिमा भएको बैठकको निर्णय अनुसार आज नेपाल संवत् ११४६ मनाएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताए । उनका अनुसार भक्तपुर नगरका नेवार समुदायले आजै राति म्हःपूजा र भोलि किजा पूजा गरी तिहार मनाउँदै छन् ।
