नेपाल संवत् ११४६ को अवसर पारेर नेपाली नोटमा नेपाल संवत् प्रयोगका लागि राष्ट्रिय विभूति शंखधर साख्वाःप्रतिष्ठानले माग गरेको हो।
भक्तपुर — राष्ट्रिय विभूति शंखधर साख्वाःप्रतिष्ठान, मध्यपुर थिमी, भक्तपुरले नेपाली नोटमा नेपाल संवत् प्रयोग गर्न माग गरेको छ ।
भक्तपुरमा आज आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले नेपाल संवत् ११४६ को अवसर पारेर प्रधानमन्त्री सुशिला कार्कीमार्फत नेपाली नोटमा नेपाल संवत् प्रयोगका लागि आग्रह गरिसकेको बताए ।
नेपाली नोटमा नेपाल संवत् प्रयोग गर्न प्रधानमन्त्री कार्की सकारात्मक रहेको र अर्थ मन्त्री रामेश्वर खनाल विदेश भ्रमणमा रहेकाले विदेशबाट फर्किएपछि नेपाल नोटमा नेपाल संवत् प्रयोगको प्रक्रिया अघि बढाउने आश्वासन दिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । साथै, विदेशस्थित नेपाली दूतावासहरूमा नेपाल संवत् ११४६ को अवसरमा कार्यक्रम आयोजना गर्न र राष्ट्रिय विभूति शंखधर साख्वाःको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्न पनि सरकारसँग माग गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
तीनै तहका सरकारले नेपाल संवत् प्रवर्द्धनमा आवश्यक बजेट व्यवस्था गर्न सरकारलाई ध्यानाकर्षण गराएको पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
नेपाल संवत् ११४६ को अवसरमा भक्तपुरको मध्यपुर थिमी स्थित शंखधर चोकमा रहेको राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण गर्ने तयारी आवश्यक रूपमा पूरा भइसकेको उनले बताए ।
