जेन–जी विद्रोहपछि थलिएको प्रहरीले नागरिकसँग सम्बन्ध सुमधुर बनाउन ‘समुदायसँग प्रहरी भेटघाट’ कार्यक्रम सुरु गरेको हो।
काठमाडौँ — शनिबार नयाँ बानेश्वरस्थित प्रहरी वृत्तको खण्डहर भवन परिसरमा स्थानीय बासिन्दा भेला भएर छलफल गर्दै थिए । उनीहरूको उद्देश्य प्रहरी वृत्तलाई पुरानै लयमा फर्काउने थियो ।
वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले भवन पुनर्निर्माणमा स्थानीयको चासोले प्रहरीलाई थप हौसला दिएको बताउँदा खण्डहर भवन पुनर्निर्माणका लागि रमेश श्रेष्ठको अध्यक्षतामा बनेको समितिले भावी योजना सुनाउँदै थियो ।
‘जेन–जी आन्दोलन’का क्रममा क्षति पुगेका वा खण्डहर बनेका प्रहरी कार्यालयहरूको पुनर्निर्माण कार्यका लागि काठमाडौँका सबै प्रहरी कार्यालयमा आज यस्तै छलफल र भेला आयोजना गरिएको छ ।
जेन–जी विद्रोहपछि थलिएको प्रहरीले नागरिकसँग सम्बन्ध सुमधुर बनाउन काठमाडौँ प्रहरीले ‘समुदायसँग प्रहरी भेटघाट’ कार्यक्रम सुरु गरेको छ । २३ र २४ गतेको जेन–जी प्रदर्शनपछि तोडफोड, आगजनी र विध्वंसको चपेटामा परेको काठमाडौँ प्रहरीले समुदायसँगको सम्बन्ध बढाउन नयाँ कार्यक्रम थालेको हो ।
शान्ति, सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रण र सामुदायिक हितका लागि कार्यक्रम सुरु गरिएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी रमेश थापाले बताए । ‘मिट एन्ड ग्रिट विथ कम्युनिटी’ नाम दिइएको कार्यक्रम समुदायसँगकै साझेदारीमा अघि बढाइएको हो ।
एसएसपी थापाका अनुसार समुदाय र प्रहरीको ऐक्यबद्धता कायम गर्न यो कार्यक्रमको सुरुवात हो । ‘प्रहरीलाई सबै क्षेत्रबाट साथ र सहयोग प्राप्त भएको छ । त्यसलाई ग्रहण गर्दै सामाजिक सद्भावको सन्देश दिन यो कार्यक्रम आवश्यक थियो,’ थापाले भने, ‘अहिलेसम्म पुनर्निर्माण भएका प्रहरीका भवन पनि स्थानीयकै सहयोगमा भएका हुन् । उनीहरूको सम्मानका लागि पनि यो कार्यक्रम हो ।’
थापाका अनुसार नागरिक र प्रहरी एक हुँदा आपराधिक गतिविधिलाई शून्य गर्न सकिन्छ । त्यसकारण पनि प्रहरी नागरिकलाई एक गराउँदै हौसला जगाउन यो कार्यको सुरुवात गरिएको हो ।
आन्दोलनका क्रममा कार्यालय छोडेर सुरक्षित स्थानतर्फ गएका प्रहरीलाई आन्दोलनपछि स्वागत गर्दै स्थानीय नै सुरक्षा निकायका संरचना पुनर्निर्माण गर्न अग्रसर हुनु सकारात्मक रहेको भन्दै थापाले सबैलाई यो अभियानमा जोडिन समेत अनुरोध गरेका छन् ।
२४ भदौको विध्वंसमा देशभर प्रहरीका करिब तीन सय ब्यारेक तथा कार्यालयमा तोडफोड र आगजनी भएको थियो । सयौँ हतियार लुटिएका थिए । २८ कारागार/बन्दीगृहबाट १४ हजारभन्दा बढी कैदीबन्दीहरू भागेका थिए । अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका सयौँ आरोपीसमेत फरार रहेका थिए ।
तीन प्रहरीसहित ७६ जनाले जेन–जी प्रदर्शन र भोलिपल्टको विध्वंसमा ज्यान गुमाएका थिए । यही पृष्ठभूमिबाट गुज्रिएको प्रहरीले नागरिकसँगको सम्बन्धलाई मजबुत बनाउन नयाँ कार्यक्रम सुरु गरेको हो ।
