कार्यालयका प्रमुख, इन्स्पेक्टर राम भट्टले युवाहरूको सकारात्मक कार्यले समाजमा आशा, एकता र सेवा भावनाको सन्देश दिएको भन्दै सहयोगका लागि धन्यवाद व्यक्त गरे ।
काठमाडौँ — भदौ २४ को प्रदर्शनका क्रममा जलाइएको ललितपुरको सातदोबाटोस्थित ट्राफिक प्रहरी कार्यालय पुनर्निर्माण र रंगरोगनपछि सञ्चालनमा आएको छ ।
परमेश्वरको मण्डली विश्व सुसमाचार समाज ललितपुर शाखाको युवा स्वयंसेवा समूहले १० दिन लगाएर रंगरोगनको कार्य गरेको हो । रंगरोगन गर्नुअघि हास्यकलाकार किरण केसी (राता मकै)को अध्यक्षतामा ट्राफिक प्रहरी कार्यालयको पुनर्निर्माण गरिएको थियो ।
मर्मत र रंगरोगनपछि ट्राफिक कार्यालय आगजनी पूर्वकै अवस्थामा फर्किएको समूहका नारायण दुलालले जानकारी दिए ।
दुलालका अनुसार समूहले रंगरोगनपछि भवन बिहीबार बिहान एक औपचारिक कार्यक्रम गरेर भवनको सम्पूर्ण कार्य सकिएको जानकारीसहित कार्यलय प्रमुखलाई भवन हस्तान्तरण गरेको थियो ।
हस्तान्तरण कार्यक्रममा कार्यालयका प्रमुख, इन्स्पेक्टर राम भट्टले युवाहरूको सकारात्मक कार्यले समाजमा आशा, एकता र सेवा भावनाको सन्देश दिएको भन्दै सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए । भवन पुनर्निर्माणसँगै आफूहरुले पुरानै लयमा सेवा प्रदान गर्न सजिलो भएकोसमेत उनले बताए ।
