शनिबार साँझ ६ बजे काठमाडौंको टोखा नगरपालिका-११ सामाखुसीस्थित सुप्रिम कलेज नजिक सडक कुकुरलाई तीन-चार जना युवाले फलामको रड र ढुंगाले हानेर मारेका थिए ।
काठमाडौँ — सामाखुसीस्थित सुप्रिम कलेज नजिक एउटा सडक कुकुरलाई रड प्रहार गरेर मारेको आरोपमा एक जना पक्राउ परेका छन् ।
गोंगबु प्रहरी प्रभाग काठमाडौंबाट खटिएको प्रहरीले अनिल भुजेललाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए । ‘एक जनालाई पक्राउ गरिसकेका छौँ । बाँकीको खोजी र अनुसन्धान जारी छ,’ प्रवक्ता भट्टराईले भने ।
शनिबार साँझ ६ बजे टोखा नगरपालिका-११ सामाखुसीस्थित सुप्रिम कलेज नजिक सडक कुकुरलाई अपरिचित तीन-चार जना युवाले फलामको रड र ढुंगाले निर्घात कुटपिट गरी मारेका थिए । आइतबार चार जनाविरुद्ध पशु अधिकारकर्मी इरफान खानलगायत ६ जनाले उजुरी दिएका थिए ।
पशु अधिकारकर्मी खानले यो घटनाको सीसीटीभी फुटेज आफ्नो फेसबुकमार्फत सावर्जनिक गरेका थिए ।
नेपालको प्रचलित कानुनमा कुनै पनि पशुप्राणीलाई निर्दयी व्यवहार गर्न, क्रूरतापूर्वक हत्या गर्न बन्देज छ । यस्ता अपराध गर्नेलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवानाको प्रावधान छ ।
सम्बन्धित समाचार
सामाखुसीमा रड प्रहार गरी कुकुर मारियो, पशु अधिकारकर्मीले दिए उजुरी
