बाढीको जोखिम बढेसँगै नगर प्रहरीले सम्भावित डुबान क्षेत्र र मानिस फस्न सक्ने ठाउँमा चारै क्षेत्रमा आपत्कालीन टोली खटाएको छ ।
काठमाडौँ — शुक्रबारदेखिको लगातारको वर्षाका कारण काठमाडौंका नदी आसपासको पानीको बहाव बढ्दै गएको छ।
बाढीको जोखिम बढेसँगै नगर प्रहरीले सम्भावित डुबान क्षेत्र र मानिस फस्न सक्ने ठाउँमा चारै क्षेत्रमा आपत्कालीन टोली खटाएको छ ।
काठमाडौँ महानगरपालिका विपद् व्यवस्थापन विभागका महाशाखा प्रमुख विष्णुप्रसाद जोशीका अनुसार प्रभावित व्यक्तिलाई सुरक्षित स्थान, मुख्यतः विद्यालयमा स्थानान्तरण गर्ने तयारी भइरहेको छ । रातभर टोली सतर्क रहने र आवश्यक परे उद्धार तथा सामान सार्ने काम गरिने जोशीले बताए ।
उनले भने, 'हामी रातभर ड्युटीमै हुन्छौँ । जहाँ जहाँ जे समस्या पर्छ अनि कहीँ स्थानान्तरण गराउनु पर्यो सामान सार्नु पर्यो उद्धार गर्नु पर्यो भने हामी तयार छौँ ।'
आपत्कालीन अवस्थामा टोली नपुगेको खण्डमा स्थानीयवासीले महानगरले उपलब्ध गराएको हटलाइन नम्बरमा सम्पर्क गर्न सक्ने जोशीले बताए ।
