मेयर बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत ३ वर्षको संघर्षपछि स्केटबोर्डको सपना साकार भएको बताएका छन् ।
काठमाडौँ — काठमाडौं महानगरपालिकाले बनाइरहेको यम बुद्ध स्केटबोर्ड पार्कको काम ५० प्रतिशतले पूरा भएको छ । मेयर बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत ३ वर्षको संघर्षपछि स्केटबोर्डको सपना साकार भएको बताएका छन् ।
‘मेयर बनेको सुरुदेखि नै हाम्रो पहिलो लक्ष्य काठमाडौंलाई सबैको लागि सहर बनाउनु थियो । सम्पदा जोगाउने कामसँगै युवाहरूको चाहनाअनुसारको सहर बनाउने योजनामा हामीले यम बुद्ध स्केटबोर्ड पार्क सुरु गरेका थियौँ,’ उनले फेसबुकमा लेखेका छन् । मेयर शाहले पार्क केवल खेल्ने ठाउँ मात्रै नभई युवाहरुको संस्कृति अभिव्यक्ति दिने, कला संगीतलाई प्रोत्साहन गर्ने अनि परिवारमैत्री ‘स्पेस’का रुपमा निर्माण भइरहेको जानकारी दिए ।
निर्माणाधीन स्केटबोर्डको पूरा काम ३ महिनाभित्रमा सकिने काठमाडौं–५ का वडाध्यक्ष वीरेन्द्र प्रजापतिले जनाए । व्यक्ति विशेषले हडपेको सार्वजनिक जग्गामा आफूहरुले यो स्केटबोर्ड पार्क बनाउँदै गरेको अध्यक्ष वीरेन्द्रले बताए । ‘हामीले नापी, मालपोत कार्यालयमा पत्रहरु हेर्दा यो सरकारी जग्गा भएको थाहा पायौं । सरकारी जग्गा खाली गर्नुपर्छ भनेर त्यहाँ भएका संरचना भत्कायौं,’ उनले भने, ‘यो जग्गासँगै हाम्रो वडाको ४० रोपनी जग्गा, व्यक्ति विशेषको नाममा लैजान प्रक्रिया अगाडि बढेको थाहा पायौं । अनि प्रक्रिया अगाडि नबढाउनु भनेर कुरा गर्यौं । त्यही फिर्ता पाएको जग्गामध्येको १३ रोपनीमा स्केटबोर्ड पार्कमा बन्दैछ ।’
प्रजापतिका अनुसार महानगरपालिको कार्यपालिकाबाट यो स्केटबोर्ड वार्ड १६ मा बनाउने योजना थियो । टेन्डर प्रक्रिया अगाडि बढ्यो । तर, जग्गाको विवादले काम अघि बढ्न सकेन । मेयर शाहले भने तत्कालीन वडाध्यक्ष स्वर्गीय मुकुन्द रिजालको निधनपछि उक्त ठाउँमा पार्क बनाउन जग्गा प्राप्त गर्न नसकेको कुरा फेसबुकमा उल्लेख गरेका छन् । तीन पटकसम्म प्रयास गर्दा पनि नेपाल सरकारले जग्गा दिन नसकेपछि वार्ड ५ मा काम सुरु भएको हो । ‘कार्यपालिकाबाट ३१ नम्बर वडामा पार्क बनाउने कुरा भएको थियो । तर, त्यहाँ पनि बनाउन सकिएन । त्यसपछि वडा ५ मा सार्वजनिक जग्गा छ त्यहाँ पार्क बनाउँ भनेर प्रस्ताव लिएर गएँ । अहिले कार्यपालिकाबाट पास भएर यहाँ यो पार्क बन्दैछ,’ अध्यक्ष प्रजापतिले भने ।
अध्यक्ष प्रजापति काठमाडौं महानगरपालिकाको बालबालिका लागि यस किसिमको खेल्ने उपयुक्त ठाउँ नभएकै कारण उनीहरु लक्षित यो पार्क बनाउँदै गरिएको धारणा राख्छन् । ‘व्यक्तिविशेषको नाम गइसकेको जग्गा हामीले वडावासीको हितका लागि लिएका हौं,’ उनले भने ।
महानगरपालिकाको सार्वजनिक निर्माण विभागका सहायक निर्देशक एवं इन्जिनियर जीवन विष्टका अनुसार यो पार्क तिहारलगत्तै पूरा हुनेछ । ‘यसबीचमा अन्य जग्गामा स्केटबोर्ड बनाउने तयारीमै धेरै समय लाग्यो । संरचना बन्ने ठाउँलाई खाली गर्ने काम सकियो । खाल्डो पुर्नेदेखि ब्लक बनाउने काम भइरहेको छ अहिले । स्केटबोर्डको बेस त बनाइसक्यौं । अब अरु संरचना पनि बन्दैछन्,’ इन्जिनियर विष्टले भने, ‘अब संरचना उठाउने काम भयो भने तिहारपछि पूर्ण संरचना बन्छ ।’
‘यहाँ स्केटबोर्डसँगै बालबालिकाका लागि खेलमैदान, ओपन जिम, ट्वाइलेट ब्लक र भलिबल कोर्ट बन्नेछन् । इन्जिनियर विष्टले भनेअनुसार अहिले ट्वाइलेट ब्लक करिब बनिसक्यो । अफिस ब्लक पनि बन्दैछ ।’
स्केटबोर्ड भने चर्चित युवा र्यापर यम बुद्धको नाममा बन्दैछ । मेयर बालेनदेखि लाहुरेसम्मका चर्चित र्यापरलाई र्याप ब्याटलबाट प्लेटफर्म दिने यम नेपालको हिपअप संगीतमा निकै रुचाइएका हस्ती हुन् । वास्तविक नाम अनिल अधिकारीले भन्दा स्टेज नाम यमले चर्चित उनले सन् २०१७ मा बेलायतमा हुँदा आत्महत्या गरेका थिए । उनको निधनसँगै र्याप क्षेत्रले यमलाई ‘गड फादर’कै रुपमा सम्झने गर्दछन् ।
