यात्रुलाई टिकटमा कसैले ठगे वा टिकट भएर पनि गाडी नपाएमा काउन्टर नजिकै रहने यात्रु सहायता कक्षमा गएर यात्रुले गुनासो गर्न सक्ने छन् । जहाँ यातायात व्यवस्था विभागका कर्मचारी र प्रहरी हुनेछन् ।
काठमाडौँ — दसैं पर्व नजिकिँदै जाँदा यात्रुको चाप हुने उपत्यकाका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिने भएको छ । जसअनुसार बिहीबार नयाँ बसपार्क गोंगबुमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।
अन्यत्र पनि सञ्चालनमा ल्याउने गरी काम भइरहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए । उनकाअनुसार यात्रुलाई टिकटमा कसैले ठगे वा टिकट भएर पनि गाडी नपाएमा काउन्टर नजिकै रहने यात्रु सहायता कक्षमा गएर यात्रुले गुनासो गर्न सक्ने छन् । जहाँ यातायात व्यवस्था विभागका कर्मचारी र प्रहरी हुनेछन् । त्यसैलाई मध्यनजर गर्दै यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको विभागले जनाएको छ ।
यो पटक दसैंका लागि गाडीको अग्रिम टिकट बुकिङ खुल्ला नगरिने भएको छ । देशको विषम परिस्थितिले गर्दा तामझामका साथ बुकिङ खुल्ला नगरे पनि यात्रुलाई टिकट र बस अभाव हुन नदिने यातायात व्यवसायीहरुको भनाइ छ । यात्रुले दसैंमा घर जान अहिलेबाटै टिकट बुकिङ गर्न सक्नेछन् ।
केही दिनयता मात्र गोंगबुस्थित नयाँ बसपार्कबाट धमाधम यात्रु बाहिरिरहेका छन् । अहिले क्याम्पस बन्द भएकाले पनि उपत्यका छाडेर पूर्व–पश्चिम जाने यात्रुको चाप बढेको हो । चाडबाडलाई मध्यनजर गर्दै यातायात व्यवस्था विभागले घटस्थापनाको दिन (असोज ६) देखि असोज २२ गतेसम्मका लागि रुप परमिट खोल्ने निर्णय गरिसकेको छ ।
