श्रदाञ्जली कार्यक्रममा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जेनजी पुस्ताका युवाका चाहना र भावनाअनुरुप अघि बढ्नसके मात्र सहिदहरुप्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।
भक्तपुर — राष्ट्रिय युवा परिषद्ले जेनजी आन्दोलनका सहिदहरुको सम्झनामा श्रद्धाञ्जली एवम् दिप प्रज्वलन कार्यक्रम गरेको छ।
सानोठिमी भक्तपुरस्थित परिषद् कार्यालयको प्राङ्गणमा बुधबार दिप प्रज्वलन गरिएको हो । श्रदाञ्जली कार्यक्रममा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जेनजी पुस्ताका युवाका चाहना र भावनाअनुरुप अघि बढ्नसके मात्र सहिदहरुप्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।
उनले कलेज/स्कुल पोसाकमा भएका कलकलाउँदा युवालाई अन्धाधुन्ध गोली हान्ने र आन्दोलनमा घुसपैठ गरी सरकारी तथा निजी सम्पत्तिमा लुटपाट मच्चाउनेलाई निष्पक्ष छानबिन गरी कडा कारबाही गर्नुपर्ने बताए । उनले जेनजी आन्दोलनको जगमा केन्द्रविन्दुमा आएका नेपाली युवाका आशा, सपना र सम्भावनामाथि यथोचित न्याय गर्न हरेकले आआफ्नो ठाउँबाट प्रण गर्नुपर्ने जिकिर गरे । उनले भने-'सबै नयाँ भएर उठौं, सबै नयाँ भएर जुटौं ।'
जेनजी आन्दोलनमा निधन भएका व्यक्तिको सम्मानमा सरकारले बुधबार सार्वजनिक बिदा दिँदै राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो ।
