टिचिङ हस्पिटलको बाल शल्य चिकित्सा विभागलाई स्वास्थ्य उपकरण सहयोग

बाल शल्य चिकित्सा वार्डमा आपतकालीन उपचार सहजताका लागि पोर्टेबल भिडियो एक्स–रे मेसिन प्रदान गरिएको हो ।

भाद्र ३१, २०८२

कान्तिपुर संवाददाता

Health equipment support to Department of Pediatric Surgery, Teaching Hospital

What you should know

काठमाडौँ — रोटरी न्यातपोलको संयोजनमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल), काठमाडौँको बाल शल्य चिकित्सा विभागलाई एक थान भिडियो एक्स–रे मेसिन र दुई थान भेनोमिटर सहयोग गरिएको छ।

बाल शल्य चिकित्सा वार्डमा आपतकालीन उपचारको समयमा सहजता सुनिश्चित गर्न पोर्टेबल भिडियो एक्स–रे मेसिन प्रदान गरिएको हो । यसका साथै, अस्पतालमा नशा पत्ता लगाउने उपकरण (भेनोमिटर) को अभावले गर्दा बिरामी बालबालिकाको उपचारमा असहजता भइरहेकाले यस समस्या समाधान गर्न सहयोग गरिएको हो ।

अस्ट्रेलियामा शैक्षिक व्यवसाय गर्दै आएका रोटरी न्यातपोलका सदस्य तथा चर्चहिल कलेजका निर्देशक सागर लोहनीले उक्त सहयोग गरेका हुन् ।

क्याप्टेन विजय लामाले उपकरण अस्पताललाई हस्तान्तरण गरे । परदेशमा रहँदा पनि घरदेशमा सेवा गर्ने धेरैले सहयोग गरेको हुँदा नेपालमा स्वास्थ्य क्षेत्रमा ठूलो योगदान पुगेको क्याप्टेन लामाले बताए ।

टिचिङ हस्पिटलका उपप्राध्यापक एवं वरिष्ठ बाल शल्यचिकित्सक डा दिनेश कोइरालाले अस्पतालमा हुने यस्तो सहयोगले बिरामीको उपचार सहज हुने र अन्य रोगको छिटो तथा स्तरिय उपचारमा मद्दत पुग्ने बताए ।

दाता लोहनीले अस्पतालमा आधुनिक प्रविधिसहितको भेनोमिटर र भिडियो एक्स–रे उपकरण भएमा बालबालिकाको उपचारमा धेरै सजिलो हुने भएकाले सहयोग गर्ने निर्णय गरेको बताए ।

लामो समयदेखि सामाजिक काममा आवद्ध लोहनी पछिल्लो १७ वर्षदेखि अस्ट्रेलियामा छन् । रोटरी न्यातपोल र लोहनीले अस्पतालको वार्डमा उपचारका लागि आवश्यक विभिन्न सामग्री र आर्थिक सहयोग गर्दै आएका छन् । आगामी रोटा वर्ष २०२५/२६ मा शल्य चिकित्सा वार्डमा थप आवश्यक सहयोग गर्ने योजना रोटरी न्यातपोलको रहेको छ ।

उपकरण हस्तान्तरणको क्रममा अस्ट्रेलियाको न्यूक्यासल विश्वविद्यालयका एसोसिएट प्रोफेसर ब्रेन्डन बोयल, चर्चहिल कलेजका प्रमुख कार्यकारी अधिकृत डेभिड नाइट, तथा चर्चहिल कलेजका प्रतिनिधि सिबोन लाबिनाले अस्पतालको बाल शल्य वार्ड अवलोकन गरे । अवलोकन पछि उनीहरूले भविष्यमा सहयोग गर्ने इच्छा व्यक्त गरेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully