काठमाडौँमा फरक-फरक अपरेसनबाट १३ जना पक्राउ

काठमाडौं प्रहरीले गरेका चार फरक अपरेसनमा विभिन्न अपराधमा संलग्न १३ जनालाई पक्राउ गरेको हो।

भाद्र १९, २०८२

कान्तिपुर संवाददाता

Thirteen people were arrested in various operations in Kathmandu

What you should know

काठमाडौँ — काठमाडौँ उपत्यकामा बढ्दो आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले काठमाडौं प्रहरीले गरेका चार फरक अपरेसनमा १३ जना पक्राउ परेका छन् । मोटरसाइकल चोरी गर्ने समूहदेखि श्रोत नखुलेको करोडौं नगद–गहना, अवैध हतियार र बीमा ठगीसम्मका गतिविधिमा संलग्नलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार मंगलबार वृत्त कालिमाटीबाट खटिएको टोलीले धादिङ घर भएका ६ जनालाई नियन्त्रणमा लिएको थियो ।

सीसीटीभी फुटेज मार्फत उनीहरु सहित चोरीका ३ मोटरसाइकल, ६ मोबाइल फोन, ५ हेल्मेट र लक फोड्ने उपकरण बरामद गरिएको थियो । त्यही दिन  काठमाडौं महानगरपालिका–२६, गोंगबुमा रहेको विनोदकुमार श्रेष्ठको घरबाट प्रहरीले ४ करोड २५ लाख ५० हजार रुपैयाँसहित ९.५ केजी सुन र ३.२ केजी चाँदी बरामद गरेको थियो ।

प्रहरीले उनका छोरा राजकुमार श्रेष्ठले भाडामा लिएको नयाँबजारको घरमा पनि छापा मारेर थप नगद र गहनाहरु बरामद गरेको थियो । काठमाडौं प्रहरीले नक्कली दुर्घटना खडा गरी बीमा रकम असुल गर्ने समूहसमेत पक्राउ गरिएको छ। नक्कली घाइते देखाउने, अस्पतालका फर्जी कागजात प्रयोग गर्ने कार्यमा संलग्न भएको भन्दै ६ जनालाई पनि नियन्त्रणमा लिइएको एसपी बोहराले जानकारी दिए । 

प्रहरीले ठमेलको एक होटलबाट सिरक भित्र लुकाइएको पेस्तोलसहित २१ वर्षीय कर्मसाङ्पो ठकुरी समेत पक्राउ गरेको थियो । उनले पेस्तोलको तस्बिर र भिडियो सार्वजनिक गरेको सूचनापछि निगरानी बढाएको प्रहरीले उनलाई प्रक्राउ गरेको थियो । 

काठमाडौं प्रहरीका प्रमुख एसएसपी विश्व अधिकारी साँघुरा गल्ली र शंकास्पद स्थानहरूमा निगरानी बढाएर अपराध नियन्त्रण र अनुसन्धानलाई अझ सशक्त बनाइएको बताउछन् ।

‘एकै दिनमा देखिएको प्रहरीको यो अपरेसनहरूको सफलताले हामीलाई थप जिम्मेवार बनाएको छ,’ उनले भने, ‘नागरिक र सहरको सुरक्षाका लागि हामी विभिन्न योजना बनाएर काम गरिरहेका छौं ।’

कान्तिपुर

Link copied successfully