सामुदायिक विद्यालय र संस्थागत विद्यालयका प्रधानाध्यापक र सरोकारवालासँग छलफल गरी महानगरपालिकाले यो अभियान सुरुवात गरेको हो ।
What you should know
ललितपुर — ललितपुर महानगरपालिकाले एक विद्यालय, एक सम्पदा अभियान सुरु गरेको छ । महानगरभित्र रहेका सम्पदा संरक्षण गर्न र विद्यार्थीलाई सम्पदाको बारेमा जानकारी दिन यो कार्यक्रम ल्याएको महानगरपालिकाले जनाएको छ। बुधबार सामुदायिक विद्यालय र संस्थागत विद्यालयका प्रधानाध्यापक र सरोकारवालासँग छलफल गरी महानगरपालिकाले यो अभियान सुरुवात गरेको हो ।
उक्त कार्यक्रमअन्तर्गत विद्यार्थीले विद्यालयको नजिक रहेका वा पायक पर्ने स्थानमा रहेका सम्पदाको सरसफाई गर्ने र संरक्षण गर्ने काम गर्नेछन् । महानगरभित्रका ढुंगेधाराहरु, पाटी (फल्चा), बौद्ध विहारहरु, मठमन्दिर, बौद्धस्तुपा , प्रमुख पोखरीको संरक्षण र सरसफाईमा विद्यार्थी जुट्ने छन् ।
मेयर चिरीबाबु महर्जनले यो महानगरको ‘ड्रिम प्रोजेक्ट’भएको बताए । विद्यार्थीको लागि यो पढाईको प्रयोगात्मक कक्षा भएको बताउँदै उनले भने, ‘यो कार्यक्रम विद्यार्थीलाई जानकारी र संरक्षण दुवैको बारेमा ज्ञान दिन ल्याएका हौँ, आफूले संरक्षण गरेको कुराको माया लाग्छ, यसले जीवनपर्यन्त संरक्षणमा चासो र चिन्तन गर्न सहयोग गर्छ। अर्को विद्यार्थीले छोएर, देखेर सम्पदाको बारेमा बुझ्न पाउने भए।’
मेयर महर्जनले विद्यार्थीलाई यो कार्यक्रममा सक्रिय भएर सहभागी हुन अनुरोध गरे। सामाजिक विकास समितिका संयोजक एवम् प्रवक्ता राजु महर्जनले यो कार्यक्रमले विद्यार्थीलाई प्रयोगात्मक शिक्षासँग जोड्ने बताए । उनले भने, 'सम्पदा महत्व बुझाउन मद्धत गर्छ, सम्पदाको प्रचारप्रसारको लागि पनि यो कार्यक्रमले सहयोग पुर्याउँछ ।’
यो कार्यक्रम महानगरभित्र २९ वटै वडामा संचालन गरिएको शिक्षा महाशाखा प्रमुख देवीप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार यो कार्यक्रमका अनुगमनका लागि पाँच सदस्यीय तीनवटा अनुगमन समितिको समेत गठन गरिएको छ। उक्त समितिले दिएको मुल्याङ्कन प्रतिवेदनका आधार संरक्षणमा उत्कृष्ट तवरले काम गर्ने विद्यालयलाई पुस २ गते महानगरको एक सय सातौं स्थापना दिवसको अवसरमा पुरस्कृत गरिनेछ । मेयर महर्जनले भने, ‘पुरस्कार प्रोत्साहन हो, यसले संरक्षणको काममा सक्रिय हुन प्रेरित गर्छ।’ सरसफाईका क्रममा संकलन भएको फोहोरको व्यवस्थापन वातावरण शाखाले गर्नेछ ।
