भोली बिहान १० बजेर ३१ मिनेटको साइतमा ध्वजा पताकाले सजाएको य:सिं (लिंगो) उठाएपछि विधिवत् रूपमा जात्रा सुरु हुन्छ ।
What you should know
काठमाडौँ — गुठी संस्थान केन्द्रीय कार्यालयले काठमाडौं उपत्यकाको मुख्य जात्रा इन्द्रजात्राको तयारी पूरा भएको जनाएको छ । बिहीबार बिहान १० बजेर ३१ मिनेटको साइतमा ध्वजा पताकाले सजाएको य:सिं (लिंगो) उठाएपछि विधिवत् रूपमा जात्रा सुरु हुन्छ । ८ दिन मनाइने जात्रामा भाद्र २१ गते कुमारी, गणेश र भैरव रथ यात्रा सुरु हुन्छ ।
गुठी संस्थानका अनुसार इन्द्रध्वजोत्थानका लागि आवश्यक डोरी, लाकासी, चुकुलका साथै होमजपका पूजा सामग्रीको व्यवस्था भइसकेको छ । जात्रा अवलोकनमा आउने राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत विदेशी कूटनीतिक नियोगका उच्च अधिकारीको स्वागतको लागि तयारी पूरा भइसकेको छ ।
जात्रामा हनुमानढोकाको गद्दी बैठकमा राष्ट्रप्रमुख उपस्थित भई गणेश, भैरव र कुमारीको पूजा गरी जात्रा अवलोकन गर्ने प्रचलन छ । गुठी संस्थानका प्रमुख प्रशासक शैलेशराज कुवरले जात्रामा सहभागी हुने पुजारी, गुठियार, रकमी, कुमारी, गणेश, भैरवका अभिभावक, सुरक्षा निकायका प्रमुखलगाायत सरोकारवालासँग छलफल भइसकेको बताए ।
‘जात्रामा विध्नबाधा नआओस् भनेर गरिने जोगीचक्र पूजा र नाथ योगी पूजाको लागि आवश्यक सामग्रीको व्यवस्थापन गरिसकेका छौं,’ उनले भने, ‘रथयात्राको क्रममा गजुर खस्ने, काठ भाँचिने जस्ता रथमा आउन सक्ने बिघ्नबाधालाई मध्यनजर गरेर रथसँगै हिँड्ने व्यक्ति र मर्मतका लागि आवश्यक सामग्रीको प्रबन्ध मिलाइसकेका छौं ।’
उनले आवश्यक बाजागाजाको प्रबन्ध पनि गरिसकेको बताए । ‘कुमारी, गणेश र भैरवको रथ खट मर्मत सम्भार भइसकेको छ । तीनै रथ सजाउन चाहिने पुष्पगुच्छा, मालाको प्रबन्ध भइसकेको छ,’ उनले भने ।
जात्रा अवधिभर असन चोकको किराती राजा यलम्बरको शिर मानिने आकाश भैरवको मूर्ति मन्दिरको बाहिर ल्याई खट सजाएर राखिन्छ । लाखे नाच, इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीक पुलुकिसी नाच, कुमारी घर अगाडि रहेको त्रैलोक्य नारायण मन्दिरमा दशावतार नाच र विभिन्न डबलीमा देवी नाच नचाइन्छ ।
श्वेत भैरवको मुखमा जडित नलीबाट सर्वसाधारणका लागि हथु हाय्केगु भनी कालो जाड प्रसादका रूपमा खुवाउने चलन छ । अन्तिम दिन नानिचा याः भनेर गणेश, भैरव र कुमारीको तीनवटै रथलाई किलागल परिक्रमा गराइन्छ । सोही दिन भाद्र २६ गते बेलुका १० बजेर ३२ बजेको साइतमा इन्द्र ध्वजपतन गरी जात्रा समापन गरिँदैछ ।
इन्द्रजात्राको बारेमा सनातन् धर्मसाहित्य तथा वाल्मीकि रामायण, महाभारत, कालिका पुराण, देवी पुराण, विष्णु धर्मोत्तर पुराण, हरिवंश पुराण, भविष्य पुराणमा समेत वर्णन गरेको पाइन्छ । मिथक अनुसार स्वर्गका राजा इन्द्र आमा वसुन्धरादेवीलाई नित्य पूजाका लागि चाहिने पारिजातको फूल खोज्दै काठमाडौं उपत्यका आएका थिए । बगैंचामा फूलेको पारिजातको फूल नसोधी टिप्न लाग्दा स्थानीयले चोर भन्दै इन्द्रलाई बाँधेर राखे । पछि स्वर्गमा इन्द्र हराएको हल्लीखल्ली मच्चियो ।
दिव्यदृष्टिले हेर्दा इन्द्रलाई काठमाडौंवासीले बन्धनमा पारेको देखेर छोरा इन्द्रलाई त्यस बन्धनबाट मुक्त गराउन स्वयं बसुन्धारा काठमाडौं आएको जनविश्वास छ ।
इन्द्रजात्रामा राष्ट्रप्रमुखको उपस्थिति हुने परम्परा जयप्रकाश मल्लको पाला देखि चलिआएको विश्वास छ । कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले जीवित देवी कुमारीको रथ जात्रा चलाई आफू स्वयम् रथमा बसी नगर परिक्रमा गर्दथे भन्ने लोक कथन छ ।
