महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो : बालेन्द्र शाह

३३ औँ महानगर प्रहरी दिवसमा मेयर शाहले सिनेमा जस्तो कामले वास्तविक जीवनमा खुसी ल्याउने बताए।

भाद्र १४, २०८२

कान्तिपुर संवाददाता

Metropolitan police work is like watching a movie: Balendra Shah

What you should know

काठमाडौँ — काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्ने गरेको बताएका छन्। ३३ औँ महानगर प्रहरी दिवसको अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले सानोमा हलिउड फिल्म हेर्दा सिटी पुलिसले गरेको जस्तो काम अहिले काठमाडौँ महानगर प्रहरीले गरिरहेको बताए।

फिल्ममा देखाइएको काम वास्तविक जीवनमा हुनु खुसीको कुरा भएको उनले बताए। उनले काठमाडौँ महानगरबाट धेरै पालिकाले काम गर्ने शैली सिक्न खोजेको पनि बताए। त्यसमा महानगर प्रहरीको ठूलो योगदान रहेको उनको भनाइ छ।

काठमाडौँ महानगरपालिका भित्रका सार्वजनिक सम्पत्ति संरक्षण गर्ने, अतिक्रमण हटाउने, सुशासन, सुव्यवस्था र अनुगमन गर्ने काममा नगर प्रहरीको महत्त्वपूर्ण भूमिका रहेको उनले बताए।

शाहले भने, ‘धेरै पालिका छन्, धेरै ठाउँ छन्। काठमाडौँ महानगरपालिकाबाट केही सिक्न चाहन्छन्। जुन ठाउँहरूले काठमाडौँ महानगरपालिकाबाट केही सिक्न खोज्नुहुन्छ, त्यो सिकाइमा तपाईँहरूको ठूलो योगदान छ। सार्वजनिक सम्पत्ति संरक्षण, अतिक्रमण हटाउनेदेखि लिएर काठमाडौँ महानगरपालिकामा सुशासन, सुव्यवस्था, अनुगमन गर्ने काममा तपाईँहरूको उल्लेखनीय योगदान रहेको छ। सानोमा रमाइलो याद आउँछ, हामी हलिउड फिल्म हेर्थ्यौँ, पुराना फिल्म हेर्दा न्युयोर्क सिटी पुलिसको कारबाही हेर्दा लाग्थ्यो—काठमाडौँसहित देशका विभिन्न पालिकामा सिटी पुलिस कस्तो हुनुपर्छ भन्ने कुरा सिनेमामा मात्रै देखिन्थ्यो। अहिले तपाईँहरूको काम हेर्दा कहिलेकाहीँ सिनेमा हेरेजस्तो लाग्छ। त्यो खुसीको कुरा हो।'

काठमाडौँ महानगरपालिकालाई जसरी राजधानीको रूपमा चिनिन्छ, महानगर प्रहरी बल पनि काठमाडौँको पर्यायवाची पहिचानको रूपमा स्थापित भएको उनले बताए । उनले थपे, 'तपाईँहरूले देखाउनुभएको कर्मनिष्ठ र योगदान अहिलेका तीन वर्षमा मात्रै नभई आगामी दिनमा पनि विभिन्न सिटी पुलिस तथा स्थानीय सरकारका लागि एउटा सिकाइको रूपमा रहनेछ।’

साहले महानगर प्रहरी आगामी दिनमा पनि अन्य सिटी प्रहरी र स्थानीय सरकारका लागि सिकाइको रूपमा रहने विश्वास व्यक्त गरे।

कान्तिपुर

Link copied successfully