पत्नीको हत्या गरेको आरोपमा थुनामा

मकवानपुरगढीमा पति मानवबहादुरले ससुरालीमा पत्नी दुर्गालक्ष्मीको घाँटी थिचेर हत्या गरेपछि प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन्।

भाद्र १३, २०८२

प्रताप विष्ट

Imprisoned for killing his wife

हेटौंडा — बिरामी पत्नीलाई ससुरालीमा घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ परेका पतिलाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको छ। जिल्ला न्यायाधीश पूर्णिमा कोइरालाको बिहीबार बसेको इजलासले ४० वर्षीया दुर्गालक्ष्मी शिवभक्तिको हत्या गरेको आरोपमा भीमफेदी गाउँपालिका–१ का ४५ वर्षीय मानवबहादुर शिवभक्तिलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।

मकवानपुरगढी गाउँपालिका–५ वुङदोलस्थित ससुरालीमा गएर गत साउन १७ गते शिवभक्तिले घरमा कोही नभएको अवस्थामा पत्नी दुर्गालक्ष्मीको घाँटी थिचेर हत्या गरेका थिए। पत्नीको हत्यापश्चात मानवबहादुर जिल्ला प्रहरी कार्यालय हेटौडामा आफैं आएर पत्नीको हत्या गरेको जानकारी गराएका थिए। उनी बेलाबेलामा ससुराली आउने गरेका थिए।

दुर्गालक्ष्मी छोराद्वयसँग माइतमा बस्दै आएकी थिइन्। मानवबहादुर बेला–बेला ससुराली आउने गर्थे। दुर्गा लक्ष्मी विगत २ वर्षदेखि प्यारालाइसिस भएर माइतमा बस्दै आएकी थिइन्। उनलाई र छोराहरुलाई भेट्न मानवबहादुर ससुराली आउने गरेका थिए। पत्नीको हत्या गर्नु भन्दा २ दिन अघिमात्र उनी ससुराली आएका थिए।

प्रहरीले मानवबहादुरसँग बयान लिँदा पत्नी लामो समयदेखि प्यारालाइसिसकी बिरामी रहेको र हिँडडुल गर्न नसक्ने अवस्थामा रहेकाले उपचार गर्न नसकेर आफू सधैं तनावमा रहने गरेकाले तनावकै अवस्थामा उनको घाँटी निचोरेर हत्या गरेको बताएको थियो।

उनको हत्यापश्चात आफू पनि झुण्डिएर आत्महत्या गर्न खोज्दा डोरी चुँडिएपछि प्रहरीको सम्पर्कमा आएको बताएका थिए। ससुराली घरको दोस्रो तलाको काठमा डोरी बाँधेर झुण्डिएर आत्महत्या गर्न खोज्दा डोरी चुँडिएको थियो।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully