शान्ति र सुव्यवस्था कायम राख्न काठमाडौँ प्रहरीले मोक्तानलाई पुनः गिरफ्तारी गरेको छ, अदालतबाट ४ दिनको म्याद लियो।
काठमाडौँ — काठमाडौँ प्रहरीले गुन्डा नाइके रेस लामा भनेर परिचित गोपाल मोक्तानलाई पक्राउ गरेको छ । गौशाला प्रहरी वृत्तको टोलीले आइतबार गौशाला क्षेत्रमा गुन्डागर्दी गर्दै बत्तिसपुतलीस्थित एक रेस्टुरेन्टमा एक व्यक्तिमाथि अभद्र व्यवहार गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको हो ।
यसअघि पनि तरबारले केक काटेको विवादास्पद घटनामा मोक्तान पक्राउ परेका थिए। पछि उनी छुटेका थिए तर फेरि गुन्डागर्दीमा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरेको हो । मोक्तानविरुद्ध प्रहरीले थप अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट ४ दिनको म्याद लिएको छ ।
काठमाडौँ प्रहरीले पछिल्ला दिनमा गुन्डागर्दीमा संलग्न व्यक्तिविरुद्ध विशेष अभियान सञ्चालन गरिरहेको छ। यसअन्तर्गत साउन १५ गते चक्रे मिलन भनिने मिलन गुरुङ र भदौ १ गते राजु गोर्खाली भनिने राजेन्द्रबहादुर गोर्खालीलाई समेत पक्राउ गरिएको थियो।
काठमाडौँ प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले शान्ति–सुव्यवस्था कायम राख्न गुन्डाराज चलाउने र चलाउन खोज्ने जो–कोहीलाई कानुनी दायरामा ल्याउने कार्यलाई प्राथमिकतामा राखिएको बताए।
उनका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौँले आर्थिक वर्ष २०८१/८२ मा फैसला कार्यान्वयन अभियानमार्फत ५ हजार ५८५ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ।
