बुढानिलकण्ठमा स्कुटर र मोटरसाइकल ठोक्किँदा दुवैका चालकको मृत्यु

गोल्फुटारदेखि बुढानिलकण्ठ नारायणस्थानतर्फ आउँदै गरेको स्कुटर र बुढानिलकण्ठदेखि गोल्फुटारतर्फ जाँदै गरेको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो भने तीन जना घाइते भएका छन् ।

भाद्र २, २०८२

विवेक पोख्रेल

A scooter and a motorcycle collided in Budhanilkanth. Both drivers died

What you should know

काठमाडौँ — काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–७, स्पेशल चोकमा आइतबार राति १ बजे भएको सवारी दुर्घटनामा मृतक र घाइतहरुको पहिचान भएको छ ।

गोल्फुटारदेखि बुढानिलकण्ठ नारायणस्थानतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४१ प ६८१९ नम्बरको स्कुटर र बुढानिलकण्ठदेखि गोल्फुटारतर्फ जाँदै गरेको प्रदेश ३–०२–००२ प ५७२ मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए । मोटरसाइकलमा तीन जना र स्कुटरमा दुईजना सवार रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्त एसपी अपिलराज बोहराले जानकारी दिए ।

मृत्यु हुनेमा मोटरसाइकलका चालक सिराहाका २९ वर्षीय भोला थापा र स्कुटरका चालक स्याङ्जा आँधिखोलाका २९ वर्षीय रामुप्रसाद ढकाल रहेका छन् । अहिले काठमाडौंको बाँसबारी बस्दै आएका थापा मेनपावर कम्पनीमा गाडी चालकको काम गर्थे । उनका तीन वर्ष र पाँच वर्षका दुई छोरा छन् । उनकी श्रीमती एक महिना अघि मात्र सर्बिया गएकी थिइन् । अर्का मृतक ढकालको पनि केही समय अघि मात्र विवाह भएको थियो ।

मोटरसाइकलमा सवार थप दुई जना पनि चालक र सहचालकको रुपमा काम गर्नेहरु छन् । उनीहरु तीनै जना मिल्ने साथीहरु भएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकलमा सवार गोरखा आरुपोखरीका २४ वर्षीय एरिक परियारको निधार र बायाँ खुट्टामा चोट लागेको छ। खोटाङ पासिकोटका २९ वर्षीय नवीन मगरको टाउकोमा चोट लगेको छ । मगर मोटरसाइकलको बीचमा थिए ।

यता स्कुटर पछाडि सवार पूर्व नवलपरासी गैंडाकोटको ईपक परियारको बायाँ हात र टाउकोमा चोट लागेको छ । स्कुटर चालक ढकाल र परियार पनि मिल्ने साथी थिए । विदेशमा समेत उनीहरुले सँगै काम गरेको उनीहरुको परिवारले प्रहरीलाई बताएका छन् ।

घाइतेहरुको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै छ भने मृतकहरुको शव परीक्षणका लागि राखिएको छ । सीसी क्यामेरामा दुर्घटना हुँदा दुवै सवारी साधनको स्पिड सामान्य अवस्थामाभन्दा बढी रहेको एक प्रहरी अधिकृतले जानकारी दिए ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully