बुढानिलकण्ठमा सवारी दुर्घटना : दुईको मृत्यु, तीन घाइते

दुर्घटनामा मृत्यु भएका एक जनाको पहिचान भएको छ भने घाइते पनि एक जनाको पहिचान भएको छ । मृतक दुवैको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।

भाद्र २, २०८२

विवेक पोख्रेल

Road accident in Budhanilkanth: Two dead, three injured

काठमाडौँ — काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–७, स्पेसल चोकमा राति १ बजे भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

गोल्फुटारदेखि बुढानिलकण्ठ नारायणस्थानतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४१ प ६८१९ नम्बरको डिओ स्कुटर र  बुढानिलकण्ठ देखि गोल्फुटारतर्फ जादै गरेको प्रदेश ३–०२–००२ प ५७२ सुजुकी जिक्सर मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्त एसपी अपिलराज बोहराका अनुसार दुर्घटनामा परेर ३ जना घाइते भएका छन् । घाइतेमध्ये गोरखा आरुपोखरीका २४ वर्षीय एरिक परियारको मात्र पहिचान भएको छ । 

उनको निधार र खुट्टामा चोट लागेको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत उनी बोल्न सक्ने अवस्थामा छन् । थप दुई घाइतेमध्ये एकको बाँया हात र टाउकोमा चोट लागेको छ भने आर्का व्यक्तिको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले बताएको छ ।

दुर्घटनामा सिराहा जन्दहका २९ वर्षीय भोला थापाको उपचारकै क्रममा बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का करिब ३५ वर्षीय पुरुष (कालो पाइन्ट र सेतो टिसर्ट लगाएका) को पनि सोही समयमा अस्पतालमा मृत्यु भएको हो । तर उनको पहिचान नभएको प्रहरीले बताएको छ । 

मृतक दुवैजनाको शव त्रिवि शिक्षण अस्पतालमै राखिएको छ र आफन्तको खोजी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना भएको स्कुटरमा दुई र मोटरसाइकलमा तीन जना सवार थिए ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully