अवैध मुद्रा कारोबार र हुण्डीमा संलग्न दुई भारतीयसहित ४ जना पक्राउ

प्रहरीले काठमाडौँको कालो पुल नजिकबाट हुण्डी कारोबारमा संलग्न चार जनालाई विदेशी मुद्रा र नगदसहित पक्राउ गरेको हो।

श्रावण ३०, २०८२

कान्तिपुर संवाददाता

4 people arrested including two Indians involved in illegal currency trading and hundi

काठमाडौँ — काठमाडौंको कालोपुल क्षेत्रबाट अवैध विदेशी मुद्रा कारोबार तथा हुण्डी कार्यमा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन्। पक्राउ परेकामध्ये २ जना भारतीय नागरिक रहेका छन्।

भारत विहार प्रदेशको सितामडी बैरगनिया निवासी ३३ वर्षीया विक्रम जयसवाल, मोतीहारी चिरहिया निवासी ३३ वर्षीया मुन्ना जयसवालसहित नेपालको बाराको महागढीमाई नगरपालिका-३ का २७ वर्षीय ओम प्रकाश जयसवाल र महागढीमाई नगरपालिका-५ का २५ वर्षीय मनमोहन कुमार सिंहलाई प्रहरीले कोठाबाट विदेशी मुद्रा तथा नगदसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराका अनुसार साउन २९ गते दिउँसो काठमाडौं महानगरपलिका-५ कालो पुल नजिक डेरा कोठाबाट हुण्डी कारोबार भइरहेको भन्ने गोप्य सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट प्रहरीले पन्ध्र लाख तेत्तीस हजार रुपैयाँ नगद र विभिन्न कम्पनीका ५ वटा मोबाइल समेत बरामत गरेको थियो ।

बोहराका अनुसार अनुसन्धानको क्रममा उनीहरुले  ६ करोड ६ लाख ६३ हजार ६३६ रुपैयाँ बराबरको क्रिप्टो करेंसी कारोबार गरेको समेत खुलेको छ ।  बोहराले उनीहरु विरुद्ध थप अनुसन्धान अगाडि बढाइरहेको जानकारी दिए । 

कान्तिपुर

Link copied successfully