काठमाडौंका सडक र नदी किनारमा रहेका खाडलका कारण १३२ जोखिमस्थल पहिचान गरेर क्षति कम गर्न समन्वय अघि बढाइएको छ।
What you should know
काठमाडौँ — वर्षासँगै बाढी, डुबान र पहिरोको जोखिम बढिरहेका बेला काठमाडौं प्रहरीले जोखिमस्थल पहिचान गर्दै उद्धार स्रोत र जनशक्ति परिचालन गरेको छ । बुधबार पत्रकार सम्मेलनमा काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले जोखिमस्थल पहिचानदेखि उद्धारका स्रोत–साधन व्यवस्थासम्मका तयारी गरेको जानकारी दिएका हुन ।
उनका अनुसार काठमाडौंमा सडक तथा नदी किनारमा रहेका खाडल र खुला कल्भर्टका कारण हुन सक्ने १ सय ३२ वटा जोखिमस्थल पहिचान गरेर क्षती कम गराउने गरेर समन्वय अघि बढेको छ।
‘खोला तथा नदी किनारका प्रहरी इकाईहरूमा पौडी जान्ने १ सय ७१ प्रहरी कर्मचारी परिचालन गरिएको छ । लाइफ ज्याकेट, रेस्क्यु ट्युब, डोरीलगायतका सामग्रीको बन्दोबस्त गरिएका छन्,’ अधिकारीले भने,‘मनसुनजन्य विपद् तयारीका लागि नेपाली सेना, सशस्त्र प्रहरी बलको संयोजनमा फरक-फरक समयमा मनसुनजन्य विपद् तयारीको अभ्यास तथा डेमोस्ट्रेसन भएको छ।’ उनका अनुसार काठमाडौंमा ७६ वटा राहत केन्द्रको पहिचान गरेर करिब १९ हजार ५८० जनालाई एक हप्तासम्म बसोबास र खाद्यान्नको व्यवस्था गर्न सकिने गरेर काम भएको छ ।
हाल काठमाडौं प्रहरी परिसरमा प्रहरी दरबन्दी ४ हजार १६ भए पनि कार्यरत संख्या ३ हजार २३३ मात्र छ । जसमा ४ सय ९ जना महिला र २ हजार ८ सय २४ जना पुरुष रहेका छन्। काठमाडौंमा बितेका तीन वर्षमा बाढी, डुबान र पहिरोका कारण २६ जनाको मृत्यु, २७ जना घाइते र एक जना बेपत्ता भएको प्रहरी तथ्यांक छ ।
