कोकिनसहित ब्राजिलियन महिला पक्राउ

२१ वर्षीया एमिली मिकाएल सान्तोस फेरेरालाई विमानस्थलमा १ किलो ९५० ग्राम कोकिनसहित पक्राउ गरिएको छ। अनुसन्धान जारी रहेको छ।

श्रावण २३, २०८२

कान्तिपुर संवाददाता

Brazilian woman arrested with cocaine

काठमाडौँ — नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषध कोकिनसहित एक विदेशी महिलालाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशेष प्रहरी टोलीले ब्राजिलियन नागरिक २१ वर्षीया एमिली मिकाएल सान्तोस फेरेरालाई ब्रा भित्र लुकाएर ल्याएको अवस्थामा पक्राउ गरेको हो।

ब्युरोका प्रहरी उपरीक्षक तथा सह–प्रवक्ता जीवन निरौलाका अनुसार ती महिला साउन २१ गते ब्राजिलबाट दोहा हुँदै नेपाल आएकी थिइन्। उनी नेपाल हुँदै भूटान जान लागेकी थिइन्।

विमानस्थलको प्रस्थान कक्षमा चेकजाँचको क्रममा उनीसँग शंकास्पद गतिविधि देखिएपछि सोधपुछ गरेर तलासी लिँदा १ किलो ९५० ग्राम लागुऔषध कोकिन बरामद भएको थियो।

पक्राउ परेकी फेरेरामाथि लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ। हाल जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको सह–प्रवक्ता निरौलाले जानकारी दिए।

कान्तिपुर

Link copied successfully