सफाइ र रङरोगनले चिटिक्क बन्यो सौगा हिटी

ललितपुर नगर प्रहरी, स्थानीय समिति र रोटरी क्लबको सहकार्यमा सरसफाइ तथा रङरोगन गरिएको हो ।

श्रावण १७, २०८२

कान्तिपुर संवाददाता

Cleaning and dyeing made the sauga hiti more attractive

काठमाडौँ — भित्ताभरि झ्याउ अनि पानी भरिएर पोखरीजस्तो बनेको पाटन दरबार क्षेत्र नजिकैको ‘सौगा हिटी’ रोटरी न्यातपोलाको अग्रसरतामा सरसफाइ र रङरोगन गरिएको छ ।

ललितपुर महानगरपालिका प्रहरी, सौगाल टोल सुधार समिति र मंगलबजार प्रहरी चौकीको सहकार्य तथा रोटरी न्यातपोलका प्रविन महर्जनको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो ।

'हिटीमा करिब ३ फिट पानी जमेको थियो,' महर्जनले भने, 'पहिलो चरणमा हिटीको पानी निकालियो, स्टिल ब्रस र प्रेसरपम्पले सफा गरेपछि रङरोगन भएको छ ।'

यो केवल सफाइ मात्र नभई सांस्कृतिक सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र संस्कृतिक सम्पदा संरक्षण गर्ने अभियान रहेको क्लबका अध्यक्ष विष्णुकान्त घिमिरेले बताए । 'यस वर्ष हामीले सांस्कृतिक सम्पदा संरक्षण, बालबालिका लक्षित सहयोग र किसानसँग सहकार्य गर्ने विभिन्न योजना बनाएका छौं,' उनले भने, 'सौगा हिटी सरसफाइबाट यसको सुरुआत भएको छ ।'

Cleaning and dyeing made the sauga hiti more attractive

रोटरी न्यातपोलको योजनामा आफ्ना पुर्खाले सिर्जेको सम्पदा संरक्षणको हिस्सा बन्न पाउँदा खुसी लागेको ललितपुर नगर प्रहरीका प्रमुख सीताराम हाछेथुले बताए ।

खानेपानी व्यवस्थापन गर्न १६औं शताब्दीमा तत्कालीन राजा सिद्धिनरसिंह मल्लका भाइ रिद्धिनरसिंह मल्लद्वारा निर्माण गरिएको सौगा हिटी कलात्मक शिल्पकौशलको उत्कृष्ट उदाहरण पनि हो । विसं २०२२ मा तत्कालीन राजा महेन्द्रले हिटीको जीर्णोद्वार गराएका थिए ।

कान्तिपुर

Link copied successfully