काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अशोक, टेकबहादुर र बिमललाई ठगीको आरोपमा विभिन्न स्थानबाट पक्राउ गरेको छ।
काठमाडौँ — प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ बस्ने मकवानपुर मनहरी गाउँपालिका–५ का अशोक मोक्तान, काठमाडौं तार्केश्वर नगरपालिका–४ बस्ने सल्यान कपुरकोट गाउँपालिका–३ टेकबहादुर घर्तीमगर र भक्तपुर मध्यपुर थिमी नगरपालिका–३ बस्ने तनहुँ व्यास नगरपालिका–४ बिमल आले रहेका छन् ।
पक्राउमध्ये अशोकले यूएई पठाइदिन्छु भन्दै पीडितहरुबाट ११ लाख ४० हजार रूपैयाँ, टेकबहादुरले मलेसिया पठाइदिन्छु भन्दै २ लाख ८ हजार रूपैयाँ र बिमलले सर्बिया पठाइदिन्छु भन्दै १२ लाख रूपैयाँ लिई सम्पर्कबिहीन बनेका थिए ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
