एउटा फल्चाको लागत ३० देखि ३५ लाख
What you should know
काठमाडौँ — रत्नपार्कनजिकै बन्दै गरेको बस बिसौनीको फल्चामा अडेस लगाउँदै बसिरहेका थिए, सिन्धुपाल्चोकका ४५ वर्षीय कमलबहादुर मगर । उनी पाँच दिनअघि मात्र वीर अस्पतालमा उपचाररत आफन्त भेट्न काठमाडौं आएका हुन् ।
कमलले धेरै पटक काठमाडौं ओहोरदोहोर गरे । वीर अस्पताल नै धेरै पटक पुगे । प्रत्येक पटक उनलाई काठमाडौंको अव्यवस्थित सहरीकरण देखेर दिक्क लाग्थ्यो । केहीबेर बिसाउने ठाउँ भेट्न मुस्किल । धूलो–धूवाँ उस्तै । तर यस पटक काठमाडौं आउँदा रत्नपार्क र अन्य ठाउँमा बन्दै गरेका आकर्षक पाटी (फल्चा) देखेर कमल दंग छन् ।
‘कस्तो राम्रो बस्ने ठाउँ बनेछ, म त दिउँसो यस्तो टन्टलापुर घाममा कता जानु ? शीतल लागेर यहीं बसेको,’ उनले भने, ‘६ महिना अगाडि आउँदा यस्तो केही थिएन जस्तो लागेको थियो । अहिले काठको बुट्टा भरेको बस्ने ठाउँ देख्दा दंग परें ।’ फल्चाले गर्दा आफूजस्ता यात्रुलाई धेरै सहज भएको कमलको भनाइ छ ।
बन्दै गरेका फल्चामा मानिसहरू भने थुचुक्क बसेर होस् वा अडेस नै लाएर किन नहोस् थकान मेटाउने गरेका छन् । हातमा छाता लिएर बसको प्रतीक्षामा बसिरहेका यात्रुमाझ एक थिए, वेदबहादुर तिमल्सिना । सहरमा भएको नयाँ परिवर्तनमाझ फल्चाले मौलिक शैली झल्केको र सहर आकर्षक देखिने उनले बताए । ६६ वर्षीय वेदबहादुर फल्चाले पुरानो याद ताजा भएको महसुस गर्छन् । ‘यो देखेर हाम्रो पालाको फल्चा, पुरानो घर, मन्दिरको खुबै झझल्को आयो,’ उनले भने, ‘काठले बनेका, यसरी नै बुट्टा भरेका हुन्थे, बस्न पनि सुबिस्ता हुने र संस्कृति पनि झल्कने साह्रै राम्रो बनाए यो त ।’
अन्य स्थानीय तहले पनि यस्तै सुविधायुक्त फल्चा बनाउनुपर्ने उनी बताउँछन् । ‘यसरी नै हरेक ठाउँमा कला, संस्कृति झल्कने र ओत लाग्न मिल्ने यस्तै किसिमको आराम गर्ने ठाउँ बने त सबैका लागि राम्रो हुन्थ्यो,’ उनी भन्छन् ।
महानगरले बनाएका आकर्षक फल्चाले युवाको मनसमेत तानेको छ । १२ कक्षामा अध्ययनरत सविना तामाङ फल्चामा बसेर मोबाइल चलाइरहेकी थिइन् । बस कुर्दा चर्को घाममा तातिनु नपरेकामा उनी निकै खुसी थिइन् । ‘पहिला बस कुर्न कहिले चर्को घाम त कहिले पानी परेको बेला रुझ्दै बस्नुपर्थ्यो । कति गाह्रो हुन्थ्यो, अहिले कस्तो आनन्द भएको छ,’ उनले भनिन्, ‘गाडी जति ढिलो आए पनि मतलबै नलाग्ने ।’
त्यस्तै पहिला पानी पर्नेबित्तिकै पैसा नै नभए पनि ओतका लागि चिया खाने निहुँमा रेस्टुरेन्ट जानुपरेको बाध्यता हटेको बताउँछिन्, ४५ वर्षीया भीमरानी घले । विगत २० वर्षदेखि काठमाडौं बस्दै आएको बताउने उनले फल्चाका कारण ठूलो राहत भएको बताइन् । ‘अहिलेसम्म यत्तिको सहज र राम्रो बस्ने ठाउँ देख्या थिइनँ,’ उनले भनिन्, ‘बन्दै छ, बनिसकेपछि झन् कति राम्रो होला । पहिला त पानी परेपछि कता जाने होला भनेर तनाव हुन्थ्यो । अब यो बनिसकेपछि निकै नै सहज हुने भयो ।’
संस्कृतिविद्हरूका अनुसार बाटोमा हिँड्ने बटुवालाई होस् वा स्थानीयलाई, केहीबेर सुस्ताउन र बसेर दुःखसुखका कुरा गर्न बनाइएका फल्चा अर्थात् पाटीहरू परम्परा र संस्कृतिसँग जोडिएका छन् । सहरीकरणसँगै यी फल्चाहरू बिस्तारै हराउँदै गए । युवा हुन् या ज्येष्ठ नागरिक, फल्चामा जम्मा भएर भलाकुसारी गरी दिन बिताउने गर्छन् । काठमाडौं उपत्यकाका पुराना बस्तीमा फल्चामा बसिबियाँलोसँगै दाफा भजनकीर्तनसमेत गर्ने गरिन्छ । यस्तै सामूहिक निर्णय मात्र होइन, कतिपय ठाउँमा धार्मिक जात्रा पर्वका साथै ज्योतिषहरूले साइतसमेत हेर्ने गर्छन् ।
काठमाडौं महानगरपालिकाले मौलिक सम्पदा र संस्कृतिको जर्गेना गर्ने उद्देश्यसहित पछिल्लो समय बस बिसौनीदेखि सहरका भित्री क्षेत्रमा परम्परागत फल्चाको निर्माण र पुनर्निर्माणलाई तीव्र बनाएको छ । महानगरपालिकाले विभिन्न ५० स्थानमा फल्चा निर्माण गर्ने योजना बनाएको छ । काठको लम्बाइ र ठाउँ हेरेर लागत निर्धारण हुने काठमाडौं महानगरका वरिष्ठ इन्जिनियर रबीन्द्र रिजाल बताउँछन् । बस बिसौनी एउटा फल्चाको ३० देखि ३५ लाख हाराहारी लागत लाग्ने उनको भनाइ छ ।
पुरानो परम्परागत निर्माण कलालाई झल्काउने गरी यात्रुलाई सहज होस् भन्ने हिसाबले फल्चा निर्माण गरिएको रिजाल बताउँछन् । ‘पुरानो कला र परम्परा झल्किने, वातावरणमैत्री र यात्रुका लागि सहजका हिसाबले, बाटो डिस्टर्ब नगरी बीचबाट अन्य यात्रु पनि आउन–जान मिल्ने, अपांगमैत्री, दायाँबायाँ बस्न मिल्ने भएकाले फल्चाको डिजाइन राम्रो छ,’ उनले भने । रिजालले हाल २५ स्थानमा निर्माण सुरु भइसकेको र केही स्थानमा निर्माण कार्य छिट्टै सुरु हुने जानकारी दिए । हालसम्म फाल्चा निर्माणका लागि करिब ८ करोड रुपैयाँ खर्च भइसकेको पनि उनले जानकारी दिए । ‘माग धेरै वडाबाट आएको छ, सबैलाई सहज र उपयुक्त ठाउँमा निर्माण गरिरहेका छौं,’ उनले भने ।
सांस्कृतिक सम्पदा पर्यटन महानगर गौरवको योजनाअन्तर्गत बनेका फल्चा काठमाडौं महानगरपालिकाका विभिन्न स्थानमा निर्माण भइरहेका छन् । कलंकी २, बबरमहल १, बानेश्वर २, सिभिल हस्पिटलछेउ २, तीनकुने २, कोटेश्वर ३, बालकुमारी १, सिनामंगल १, एयरपोर्ट १, चाबहिल ३, बसुन्धरा १, विशालनगर १, बालुवाटार १, रत्नपार्क १, राष्ट्रिय सभागृह हल १, एनएसी अगाडि २ स्थानमा महानगर र विभिन्न वडा मिलेर फल्चा निर्माण गरिरहेका छन् ।
महानगरले आर्थिक वर्ष २०७९/८० देखि बसस्टपहरूलाई परम्परागत शैलीको फल्चामा परिणत गर्ने नीति लिएको थियो । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा ५० वटा फल्चा निर्माण गर्ने गरी मात्र १ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
काठमाडौं महानगरपालिका वडा नम्बर ४ बालुवाटारका वडा अध्यक्ष दिनेश महर्जनले सडकमा ओहोरदोहोर गर्ने यात्रुलाई विश्राम गर्न सहज होस् भन्ने उद्देश्यले फल्चा निर्माण भएको जनाएका छन् । ‘यात्रुको सहजताका लागि नै हो यो निर्माण गरेको, यसले कला र संस्कृतिलाई पनि जोगाउने काम गरेको छ,’ उनले भने, ‘वडाको बजेटबाट पनि बनेको र महानगरले विनियोजन गरेको बजेटबाट पनि बनिरहेका छन् ।’ फल्चाको लम्बाइ, डिजाइनले पनि यसको फरकफरक लागत लाग्ने उनको भनाइ छ । ‘विभिन्न स्थानको हिसाबले, काठको आकार, क्वालिटी हेरेर, बुट्टा हेरेर बनाउँदा सस्तोदेखि महँगो खर्च हुने हो । कुनै १५ देखि १७ लाख लाग्ने पनि हुने रहेछन् त कुनै २२ देखि २५ वा योभन्दा बढी लाग्ने पनि होलान्,’ उनले भने । विभिन्न स्थानमा निर्माण कार्य सञ्चालन गरिएको उनले बताएका छन् ।
त्यस्तै, महानगरको सम्पदा तथा पर्यटन विभागीय प्रमुख कुमारी राईका अनुसार सम्पदाको पुनर्निर्माण गर्ने उद्देश्यले महानगरपालिकाले यो कार्य गरिरहेको बताउँछिन् । उनी भन्छिन्, ‘बसस्टप फल्चालाई परम्परागत रूपमा सीप र मौलिक शैली झल्किने हिसाबले हामीले यस्तो निर्माण गर्न लागेका हौं । काठमाडौं महानगरपालिकाले संस्कृति जोगाउने, सम्पदाहरूको पुनर्निर्माण गर्ने उद्देश्यअन्तर्गत सीप र शैलीको पुनरुत्थान गर्दै आइरहेको छ ।’ नयाँ पुस्तालाई प्रोत्साहन गर्ने हिसाबले फल्चाले ठूलो भूमिका खेल्ने कुमारी बताउँछिन् । नयाँ पुस्तालाई पुरानो कला, संस्कृतिको ज्ञान हुने, परम्परागत शैलीको पुनरुत्थान पनि हुने, अपांगमैत्री पनि भएकाले यो निकै राम्रो हो जस्तो लाग्छ । फल्चा सबैलाई मनपर्छ भन्ने कुरालाई सकारात्मक तरिकाले लिएका छौं ।’
