काठमाडौँ — प्रहरीले शनिबार साँझ काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थित तरकारी बजारमा तरकारी किन्ने बहानामा सुनको सिक्री लुटपाट गरी फरार रहेका दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–८ जरङ्खु बस्ने २१ वर्षीय कौशल बस्नेत र २६ वर्षीय मिलन तामाङ रहेका छन् ।
दुवै जना मिलेर काठमाडौं महानगरपालिका–२६ सामाखुशी टाउन प्लानिङका ५१ वर्षीया लक्ष्मी घिमिरेको ४ लाख ३८ हजार रुपैयाँ पर्ने २ तोला २५ लालको सुनको सिक्री लुटपाट गरी फरार भएका थिए ।
दुवै जनालाई प्रहरी वृत बालाजुबाट खटिएको टोलीले माछापोखरी कुमारी स्थान मन्दिर नजिकबाट लुटपाट भएको सिक्रीसहित पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
