काठमाडौँ — प्रहरीले ठगीमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका–१ लोकन्थली बस्ने काभ्रेपलाञ्चोक बनेपा नगरपालिका– २ का विशाल घिमिरे, काठमाडौं महानगरपालिका–९ गौशाला बस्ने सर्लाही लालबन्दी नगरपालिका–१ नवलपुरका समिर सिंह र ललितपुर महालक्ष्मी नगरपालिका–५ ईमाडोल बस्ने सर्लाही कविलासी नगरपालिका–९ सल्यानपुरका अशोककुमार यादव रहेका छन् ।
प्रहरीका अनुसार उनीहरुले अमेरिका जाने प्रयोजनका लागि बैंक ब्यालेन्स देखाउन १ करोड २० लाख रुपैयाँ आवश्यक भएको बहाना बनाई पीडितबाट उक्त रकम खातामा जम्मा गर्न लगाई सम्पर्कविहीन भएका थिए । पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
उनीहरूलाई ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
