ढलमा खसेका व्यक्तिको प्रहरीले गर्‍यो सकुशल उद्धार

श्रावण २, २०८२

कान्तिपुर संवाददाता

The police rescued the person who fell into the sewer

What you should know

काठमाडौँ — कागेश्वरी मनोहरा नगरपालिका–६ स्थित बाबा चोक नजिक ढलमा खसेका एक व्यक्तिलाई प्रहरी टोलीले सकुशल उद्धार गरेको छ। ढलबाट करिब १०० मिटर तल बगेका दोलखा वैद्य गाउँपालिका–५ घर भएका ६० वर्षीय तोरणबहादुर बस्नेत क्षेत्रीलाई प्रहरीले उद्धार गरेको हो।

हाल कागेश्वरी मनोहरा–६, मुलपानी खहरेमा बसोबास गर्दै आएका उनी आफन्तको पसलमा पुगेर फर्कँदै थिए।

बिहीबार दिउँसो १२:१५ बजे ढलमा व्यक्ति खसेको सूचनापछि प्रहरी वृत्त बौद्धबाट प्रहरी नायब उपरीक्षक जयश्चर रिमालको कमान्डमा खटिएको १० जनाको प्रहरी टोलीले उनलाई उद्धार गरेको हो।

प्रहरीका अनुसार बस्नेतको शरीरमा चोटपटक केही नभएको र उनलाई दाजु रुद्रबहादुर बस्नेतको जिम्मा लगाइएको छ। ‘पहिले पनि यस ठाउँमा यस्तै घटना भएको रहेछ,’ दाजु बस्नेतले भने, ‘पानी नपरेकाले ठूलो दुर्घटना हुन पाएन।’ उनले जोखिम भएका ठाउँमा स्थानीय तहले ध्यान दिएर तारजाली लगाइदिन पनि अनुरोध गरेका छन्।

कान्तिपुर

Link copied successfully