What you should know
काठमाडौँ — सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका मोरङ बेलबारी नगरपालिकाका-३ का ३२ वर्षीया निकु राई लागुऔषधसहित पक्राउ परेकी छन् ।
सामाखुशीस्थित खोला किनारको सुकुम्बासी बस्तीमा बस्दै आएकी राईले बालाजुमा ७ हजार रुपैयाँ तिर्ने गरी कोठा भाडामा लिएर लागुऔषध कारोबार गरेको पाइएपछि लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले पक्राउ गरेको हो । ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक जनकबहादुर शाहीका अनुसार भाडामा लिएको कोठाबाट ट्रामाडोल क्याप्सुल ३५ हजार ५ सय ९० र लागुऔषध गाँजा १२.५०० किलोग्रामसहित उनी पक्राउ परेका थिए । शाहीका अनुसार राईले ७ हजार रुपैयाँ भाडा तिरेर कोठालाई गोदामको रुपमा प्रयोग गर्दै आएका थिए । अनुसन्धानको क्रममा उनले ३ वर्षदेखि लागुऔषध कारोबार गर्दै आएको खुलेको छ ।
राईले लागुऔषधकै कारोबारबाट ४ जनाको आफ्नो परिवार चलाउँदै आएको समेत प्रहरीसँग उनले बताएकी छन् । ‘भारतबाट लागुऔषध ल्याउने र काठमाडौंमा छुट्टै कोठा लिएर कारोबार गर्दै आएका रहेछन्,’ प्रहरी उपरीक्षक शाहीले भने,‘हामीले भारतीय कारोबारीसमेत खोजीरहेका छौं ।’
ब्युरोले असार १३ गते काठमाडौं महानगरपालिका–१४, बल्खुस्थित एक कोठाबाट लागुऔषधसहित कुंगा तामाङ र पदमबहादुर महतेलाई समेत पक्राउ परेको थियो । उनीहरूको कोठाबाट बुप्रेनोर्फिन, डाइजेपाम र फेनार्गन गरी जम्मा ३१ हजार १०१ थान एम्पुल बरामद भएको ब्युरोले जनाएको छ ।
पक्राउ परेकामाथि लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अनुसन्धान अगाडि बढेको प्रहरी उपरीक्षक शाहीले जानकारी दिए ।
