कफीखेती प्रवर्द्धनमा रोटरी न्यातपोलको पहल, ग्रामीण किसानसँग सहकार्य गर्ने

असार ३०, २०८२

कान्तिपुर संवाददाता

Rotary Nyatpol's initiative to promote coffee farming, collaborating with rural farmers

काठमाडौँ — रोटरी न्यातपोल क्लबले ग्रामीण क्षेत्रमा व्यावसायिक कफीखेतीलाई प्रोत्साहन गर्न किसानसँग सहकार्य गर्ने घोषणा गरेको छ । क्लबको छैटौँ पदस्थापन समारोहमा नवनियुक्त अध्यक्ष विष्णुकान्त घिमिरेले ग्रामीण भेगका कृषकको जीवनस्तर सुधार गर्न कफीखेतीलाई प्राथमिकता दिइने जानकारी दिए ।

उनका अनुसार क्लबले 'ब्ल्याक डायमन्ड' का रूपमा चिनिने नेपाली कफीको उत्पादन वृद्धि, सीप अभिवृद्धि, प्राविधिक सहयोग तथा बजारीकरणमा ध्यान केन्द्रित गर्नेछ । 'क्लबका सामाजिक कामको निरन्तरतासँगै अब कफीखेतीलाई पनि संस्थागत रूपमा सहयोग गरिनेछ,' घिमिरेले भने, 'यसले किसानको आम्दानी बढाउनुका साथै ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गर्नेछ ।'

कार्यक्रममा बोल्दै क्लबका पूर्वअध्यक्ष राकेशराम श्रेष्ठले दीगो परियोजनाहरूको आवश्यकता औंल्याउँदै कफीखेतीजस्ता कार्यक्रमहरू दीर्घकालीन लाभका दृष्टिले महत्वपूर्ण हुने उल्लेख गरे । क्लबले कफीखेती गर्न उपयुक्त भेग पहिचान गरेर कृषक समूहसँग सहकार्य गर्ने र सम्भावित लगानीकर्ता तथा प्राविधिक साझेदारको समेत संयोजन गरिने जनाएको छ ।

क्लबले सदस्यहरूको पेशागत दक्षता र सञ्जाललाई उपयोग गरेर कृषि क्षेत्रमा नवप्रवर्तन ल्याउने योजना बनाएको छ । फेलोसिप, नेटवर्किङ र सेवा कार्यमार्फत क्लबको सामाजिक प्रभावलाई अझ विस्तार गरिने बताइएको छ ।

रोटरी वर्ष २०२५/२६ का लागि गठन भएको नयाँ कार्यसमितिको नेतृत्वमा क्लबले दीगो विकासका लक्ष्यअनुरूप विविध सामाजिक तथा आर्थिक कार्यक्रम अघि बढाउने बताइएको छ ।

घिमिरे नेतृत्वको कार्यसमितिमा निवर्तमान अध्यक्ष एवं सर्जेन्ट एट आर्म्समा राकेशराम श्रेष्ठ, प्रेसिडेन्ट इलेक्ट रमन श्रेष्ठ, उपाध्यक्ष उमेश पाण्डे, सचिव कृष्ण कुँवर, कोषाध्यक्ष प्रविना अमात्य, क्लब लर्निङ फ्यासिलिटेटर विजय शर्मा, एड्मिन डिरेक्टर अप्सरा तिमिल्सिना, सर्भिस कमिटीमा डिरेक्टर उपासना शर्मासहित दिपेश रेग्मी र प्रविन अधिकारी रहेका छन् ।

त्यस्तै, टीआरएफ डिरेक्टर रितु वाग्ले, इन्टरनेशनल कमिटीमा डिरेक्टर अनीसा जोशीसहित उत्सवसिंह अधिकारी, कृष्मा जोशी र प्रवेशलाल जोशी, पब्लिक इमेज कमिटीमा वासु महर्जन र अजय अर्याल, मेम्बरसिप कमिटीमा डिरेक्टर सुनैना श्रेष्ठसहित प्रविन महर्जन, प्रेसिडेन्ट एड्भाइजरमा सागर लोहनी र सुवर्ण थापा रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि एवं रोटरी डिस्ट्रिक्ट २३९२ नेपाल–भुटानका गभर्नर इलेक्ट विष्णुबहादुर कार्कीले विगतमा रोट्र्याक्टको सफल नेतृत्व गरिसकेका घिमिरेले रोटरी न्यातपोललाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे ।

क्लबका असाइन असिस्टेन्ट गभर्नर डा. बुद्धिमान श्रेष्ठले सदस्यहरूको व्यक्तित्व विकास र आपसी सम्बन्धको विस्तारलाई मध्यनजर गर्दै फेलोसिप र नेटवर्किङ बैठकहरूको योजना क्लबको उत्कृष्ट पाटो रहेको टिप्पणी गरे ।

कार्यक्रममा रोटरी इन्टरनेशनल जोन ६ का मेम्बरसिप कोअर्डिनेटरमा मनोनीत सञ्जय गिरी, जोन ६ कै असिस्टेन्ट रिजनल मेम्बरसिप कोअर्डिनेटरमा मनोनीत जितेन्द्रबहादुर भण्डारीलाई रोटरी न्यातपोलको तर्फबाट सम्मानसमेत गरिएको थियो ।

कान्तिपुर

Link copied successfully