त्रिभुवन विमानस्थलबाट कोकिनसहित भारतीय नागरिक पक्राउ

असार २७, २०८२

विवेक पोख्रेल

Indian citizen arrested with cocaine at Tribhuvan Airport

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागूऔषध कोकिनसहित एक जना विदेशी नागरिक पक्राउ परेका छन् । 

लागूऔषध नियन्त्रण ब्युरो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरण शाखाले ४५ वर्षीय अब्दुस समाद जमाल मन्सुरी पक्राउ गरेको हो । विमानस्थलको अराईभल पार्किङ एरियाबाट झोलासहित पक्राउ परेका मन्सुरीको झोलामा ३ किलो ४ सय ग्राम कोकिन भेटिएको ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए । उनी बुधबार साँझ ६ बजे कतार एयरवेजबाट काठमाडौं ओर्लिएका थिए ।

मन्सुरी भारतको महाराष्ट्र ठेगाना भएका भारतीय नागरिक हुन् । ‘विद्यार्थीले बोक्ने जस्तो भिर्ने झोलामा कपडासहित कोकिन राखेर ल्याएका रहेछन्,’ प्रहरी उपरीक्षक शाहीले भने, ‘शंका लागेको आधारमा जाँच गर्दा कोकिन भेटिएको हो ।’ उनका अनुसार लागूऔषध परीक्षणका लागि विमानस्थलमा त्यस्तो कुनै उपकरण छैन । 

यसअघि पनि प्रहरीले शंका लागेको आधारमा लागूऔषध कारोबार गर्नेहरुलाई अनुसन्धान र पक्राउ गर्दै आएको छ । प्रहरीले अब मन्सुरीमाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully