काठमाडौँ — काठमाडौं महानगरपालिकाको राजस्व परामर्श समितिको बैठकले २५ अर्ब ११ करोड बजेटको सीमा निर्धारण गरेको छ । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षमा शुक्रबार बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सीमा निर्धारण गरेको हो ।
बैठकले आगामी आर्थिक वर्षका लागि करिब २५ अर्ब ११ करोड बजेटको सीमा निर्धारण गर्दै बजेट सार्वजनिकका लागि तयारी गर्दै छ । बैठकमा प्रमुख शाहले जनचाहना अनुरूप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिए । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजस्व परामर्श समितिले निर्णय समेत गरेको छ ।
आगामी आर्थिक वर्षको बजेटमा आर्थिक विकास क्षेत्रतर्फ ३ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिक १४ प्रतिशत, पूर्वाधार विकासतर्फ ५१ प्रतिशत, सामाजिक विकासतर्फ २० प्रतिशत र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत बजेटको सीमा तोकिएको छ ।
महानगरपालिकाले २०८२/८३ को बजेट आइतबार ल्याउँदै छ ।
