बौद्धमा कोठामा आगलागी हुँदा अशक्त महिलाको मृत्यु

असार २६, २०८२

विवेक पोख्रेल

A disabled woman died in a fire in a room in Buddh

काठमाडौँ — काठमाडौं महानगरपालिका–६ चेमजुङ गल्लीमा बिहीबार दिउँसो भएको आगलागीमा एक अपांगता भएकी महिलाको ज्यान गएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार हरिप्रसाद गौतमको साढे तीन तले घरको भुइँतलामा बस्दै आएकी ६५ वर्षीया उर्मिला तामाङको कोठामा दिउँसो ४ बजेतिर आगलागी हुँदा उनको मृत्यु भएको हो । 

काभ्रे चौरीदेउराली–३ स्थायी घर भएकी तामाङ कोठामा सुतिरहेको अवस्थामा आगलागी भएको थियो । उनको समयमै उद्धार हुन नसकी जलेर मृत्यु भएको सूचना अधिकारी बोहराले बताए । उर्मिला बायाँ खुट्टा नभएकी महिला थिइन् । उक्त कोठामा तामाङ र उनका छोरा बस्दै आएका थिए । उनका छोरा आफन्तकहाँ गएको अवस्थामा आगलागी भएको जानकारी प्रहरीले दिएको छ ।

स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आइसकेको बौद्ध प्रहरी वृत्तबाट प्रहरी निरीक्षक जयशंकर रिमालले जानकारी दिए ।

आगलागीबाट कोठाभित्र रहेका झ्याल, ढोका, लत्ता कपडा लगायतका सामग्री पूर्ण रूपमा जलेर नष्ट भएका छन् । आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully