मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

असार २५, २०८२

रासस

Distribution of red parts after hundreds of years to the natives of the Malla period settlement

भक्तपुर — भक्तपुरको मल्लकालीन बस्तीका रूपमा रहेको चित्रपुरका स्ववासीलाई सयौँ वर्षदेखि उपभोग गर्दै आइएको जग्गाको स्रेस्ता पुर्जा वितरण गरिएको छ । नापी कार्यालय भक्तपुरले सूर्यविनायक नगरपालिका-४ दधीकोट चित्रपुरका लालपूर्जाबिहीन स्ववासीलाई जग्गाको स्रेस्ता अर्थात् धनी पुर्जा वितरण गरेको हो ।

जिल्ला नापी कार्यालय भक्तपुरले साविक दधीकोट गाविस-८ र ९ हालको सूर्यविनायक-४ का ९८ जना स्ववासीलाई आज यहाँ आयोजित एक कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले पुर्जा वितरण गरेका हुन्। नापी कार्यालयका प्रमुख डा प्रदीप सापकोटा, भूमि आयोग भक्तपुरका अध्यक्ष दीपक बिसुङ्गेलगायतले स्ववासीलाई पुर्जा वितरण गर्नुभएको नगर कार्यालयले जनाएको छ ।

नगरप्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले लामो समयदेखि प्रयोग गरिएको तर जग्गा स्रेस्ता दर्ता कायम नभएको स्ववासीलाई जग्गाको स्रेस्ता पुर्जा वितरण गरिएको बताउँदै पुर्जा पाएसँगै स्थानीयको मुहारमा मुस्कान देख्न पाइएको उल्लेख गरे।

आफैँले उपभोग गर्दै आएको, पक्की घरसमेत निर्माण भइसकेको जग्गा आफ्नो नाममा नहुँदा सरकारले जफत गर्ने त्रास र बैंकमा धितो राखेर ऋण लिन पनि नमिल्ने अवस्था अन्त्य भएको नगर प्रवक्ता सापकोटाले बताए । नगरपालिकाको निरन्तर पहलपछि स्ववासीलाई स्रेस्ता पुर्जा वितरण गर्न सफल भइएको उनको भनाइ छ ।

रासस

Link copied successfully