गत वर्षको बाढीले ठूलो पाठ सिकायो, आवश्यक पूर्वतयारी गर्दैछौँ : मेयर महर्जन

असार १७, २०८२

कान्तिपुर संवाददाता

Last year's flood taught us a big lesson, we are making necessary preparations: Mayor Maharjan

काठमाडौँ — ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले गत वर्ष असोजमा आएको बाढीबाट ठूलो पाठ सिकेको बताउँदै विपद् जोखिम न्यूनीकरण र प्रतिकार्यका लागि आवश्यक तयारी भइरहेको बताएका छन् । 

मंगलबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महर्जनले प्राकृतिक विपद्‍बाट नगरबासीलाई सुरक्षा प्रदान गर्न महानगरपालिकाले सुरक्षाकर्मीलाई तालिम प्रदान गर्ने तथा उपकरण व्यवस्थापनका काम गरिरहेको बताएका हुन् ।

यद्यपि केही उपकरण तथा साधन अभाव रहेकाले त्यसतर्फ समेत काम भइरहेको उनको भनाइ छ । 'गत वर्षको असोजमा गएको बाढीबाट हामीले ठूलो पाठ सिक्यौँ । यस्ता विपद्बाट नगरबासीहरुलाई सुरक्षा प्रदान गर्नको निमित्त ललितपुर महानगरपालिकाले गर्नुपर्ने धेरै कामहरु बाँकी नै छन् भनेर हामीले लेसन लर्न गर्यौं । सोहीअनुसार हामीले विभिन्न किसिमको तालिम र उपकरणको पनि हामीले व्यवस्थापन गरेका छौँ,' उनले भने ।  

विपद् व्यवस्थापनको सवालमा मुलुकका ७५३ स्थानीय तहहरुमध्ये ललितपुर महानगरपालिका अब्बल भए पनि आवश्यक पूर्वतयारी गर्न नसक्दा गत वर्षको विपद्को प्रतिकार्य गर्न नसकिएको मेयर महर्जनले स्वीकार गरे । 

कान्तिपुर

Link copied successfully