मेलम्चीमा बाढीपछि उपत्यकामा रिबर्मा खोलाको पानी

असार १६, २०८२

अभिषेक अधिकारी

River River water in valley after flood in Melamchi

काठमाडौँ — खोलामा बाढी आएपछि मेलम्चीको मुहानबाट उपत्यकामा पानी ल्याउन बन्द गरिएको छ । असार ३ गतेदेखि खोलामा बाढीले गर्दा धमिलो पानी आउन थालेपछि उपत्यकामा पानी ल्याउन बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

बर्खायाम सुरु भएसँगै उपत्यकावासीलाई नियमित रूपमा आपूर्तिका लागि मुहान नजिकै रहेको रिबर्मा खोलामा मेलम्ची खोलाको पानी जम्मा गरी सुरुङमार्फत पठाएर उपत्यकामा पानी वितरण गरिएको छ ।

उपत्यकामा खानेपानीको अभावलाई मध्यनजर गर्दै रिबर्मा खोलाबाट ५ देखि ७ करोड लिटर पानी काठमाडौं ल्याइएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताए । मेलम्चीकै पानी भने बर्खा अवधिभर काठमाडौं ल्याउन गारो हुने उनको भनाइ छ । ‘खोलामा बाढी पनि आउन थालेको छ, आयोजनामा क्षति नहोस् भनेर पनि अब पानी बन्द गर्नुपर्ने नै अवस्था आयो,’ उनले भने ।

मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले मेलम्चीको पानी रिबर्मा खोलामा ल्याएर वितरण प्रणालीमा पठाइएको बताए । ‘बाँध क्षेत्र नजिकै छ, त्यहाँको पानी सिधै सुरूङमा हालेर काठमाडौं ल्याइएको छ,’ उनले भने । मेलम्ची आयोजनाको हेडवर्क्स नबन्दासम्मका लागि अस्थायी रूपमा रिबर्मा खोलाको पानी मिसाएर काठमाडौं ल्याइ वितरण गरिने उनले बताए ।

अहिले मेलम्चीबाट दैनिक २० करोड लिटर पानी आइरहेको छ । बर्खाको बेलामा रिबर्मा खोलाबाट ५ देखि ७ करोड लिटर पानी र बागमती नदीबाट पनि ५ देखि ७ करोड लिटर पानी गरी करिब १४ करोड लिटर पानी यो वर्ष काठमाडौं ल्याउने गरी तयारी गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक लामिछानेले बताए ।

काठमाडौं उपत्यकामा दैनिक ४७ करोड लिटर पानीको माग छ । त्यो माग अनुसार पानी वितरण नसकिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल) ले जनाएको छ ।

–प्रशिक्षार्थी 

अभिषेक

Link copied successfully