लागूपदार्थ दुर्व्यसनविरुद्ध विद्यार्थीलाई सचेतना

असार १२, २०८२

कान्तिपुर संवाददाता

Awareness to students against drug addiction

काठमाडौँ — युवामा बढ्दो लागुऔषध प्रयोग र यसको निवारणका निमित्त काठमाडौं बागबजार–२८ स्थित शहीद शुक्र माध्यमिक विद्यालयमा बिहीबार सचेतना कार्यक्रम आयोजना गरिएको छ।

तारकेश्वर–१ मा रहेको नमोबुद्ध ड्रग एन्ड अल्कोहल ट्रिटमेन्ट एन्ड रिहाब्लिटेसन सेन्टर र श्री महाँकाल बागबजार क्लबको सहआयोजनामा विद्यार्थी र स्थानीय युवाहरूलाई लागूपदार्थ दुर्व्यसनविरुद्ध जनसचेतना स्वरुप लागुऔषधले मानसिक, शारीरिक तथा सामाजिक कुराहरूमा ल्याउने हलचलबारे प्रकाश पारिएको थियो। 

लागूपदार्थ दुर्व्यसन समस्या भएपनि यसको उपचार सम्भव रहेको रिहाब्लिटेसनका परामर्शदाता तथा अध्यक्ष निशान देउलाले बताए । उनले भने, ‘कुलतमा फस्नु भनेको आफ्नै जीवन नर्कमा पुर्‍याउनु सरह हुन्छ तर बेलैमा यसबारे सचेतना भएमा साथै कुलतमा रहेकाहरुलाई बेलैमा सुधार केन्द्रहरुमा लगेमा यसको रोकमथाम हुन सक्छ।’ 

कार्यक्रममा देउलाले लागुपदार्थ दुर्व्यसनमा फसेकाहरुको उपचारका रुपमा मनोपरामर्श, आफ्नै मनोबल र परिवारको साथ आवश्यक रहने कुरा उल्लेख गरेका थिए ।

सोही कार्यक्रममा लगत्तै विद्यार्थीहरुले लागु औषधको सेवन सेवन नगरौं भन्ने प्लेकार्डसहित बागबजार परिक्रमा गरेका थिए । 

तारकेश्वरमा रहेको नमोबुद्ध रिहाब्लिटेसन २०७५ सालमा स्थापना भएको हो। संस्थाले हालसम्म काठमाडौं,ललितपुर,नुवाकोट र चितवनका विभिन्न स्कुलहरूमा लागुपदार्थ दुर्व्यसनीविरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरिसकेको छ ।

जुन २६ लागूपदार्थ दुर्व्यसनविरुद्धको अन्तर्राष्ट्रिय दिवसका रुपमा यसबारे सचेतना एवं जानकारी दिने हेतुले विविध कार्यक्रमको आयोजना गरिन्छ ।

कान्तिपुर संवाददाता

Link copied successfully