घरेलु श्रमिकलाई न्यूनतम ज्याला दिन कानुन बनाउने अध्यक्ष दाहालको प्रतिबद्धता

असार १०, २०८२

कान्तिपुर संवाददाता

President Dahal's commitment to make a law to give minimum wages to domestic workers

पाटन (ललितपुर) — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले कानुन बनाएर श्रमिकको न्यूनतम ज्यालामा घरेलु श्रमिकलाई पनि ल्याउने पहल गर्ने बताएका छन्।

युवालय संस्थाको आयोजनामा आज ललितपुरमा आयोजित ‘घरेलु श्रम र अनौपचारिक स्याहार कार्य’ विषयक राष्ट्रिय नीति संवादलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले प्रतिपक्षी दलको हैसियतमा श्रमिकको मुद्दालाई संसद्मा उठाउने नैतिक जिम्मेवारी बहन गर्ने बताए।

'संविधानको मर्म र भावनाअनुसार कानुन बनाउने काम समयमै नहुँदा श्रमिकको मुद्दा सही ढङ्गले अगाडि बढेको छैन, श्रमिकको न्यूनतम ज्यालामा घरेलु श्रमिकलाई पनि ल्याउने पहल गर्नेछौँ,' उनले भने।

दाहालले श्रमिकको जीवनमा सकारात्मक परिवर्तनको अनुभूति गराउन नसकेसम्म परिवर्तनको औचित्य र दिगोपना कायम गर्न नसकिने धारणा राखेका छन्। 'श्रमिककै कारण म तीन पटक प्रधानमन्त्री हुन सफल भएँ, यो मुद्दालाई जोड दिएर राष्ट्रिय रूपमा पहल गर्न प्रयत्न गर्नुभएकामा धन्यवाद दिन चाहन्छु, घरेलु श्रमिकलाई पनि वैधानिक व्यवस्थामार्फत कानुन निर्माण गरेर सम्मानित जीवन बिताउने वातावरण तयार गर्न निरन्तर लाग्ने प्रतिबद्धता जनाउन चाहन्छु,' उनले भने।

सांसद रमा कोइरालाले आफूले ट्रेड युनियनबाट प्रतिनिधित्व गर्दै श्रमिकको हितमा निरन्तर आवाज उठाइरहेको बताएकी छन्। उनले देशमा प्रशस्त रोजगारी सृजना गर्न सकिने उल्लेख गर्दै सरकारले नेपालमा रहेको श्रम बजार र रोजगारीलाई चिन्न नसकेको बताएकी छन्।

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले घरेलु श्रमिकका हितमा कानुन बनाएर प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन्।

सन् २०१३ मा स्थापित युवाको नेतृत्वमा सञ्चालित संस्था युवालयले युवाको क्षमता अभिवृद्धि, अधिकार संरक्षण तथा सामाजिक रूपान्तरणका क्षेत्रमा क्रियाशील रही उल्लेखनीय योगदान दिँदै आएको छ। पछिल्लो समय घरेलु तथा हेरचाहसम्बन्धी श्रमलाई सामाजिक मान्यता दिई यसलाई सम्मानजनक र मर्यादित पेसाका रूपमा विकास गर्न स्थानीय तह, प्रदेश र सङ्घीय स्तरमा वकालत तथा अभियानमार्फत पैरवी गरिरहेको जानकारी संस्थाका अध्यक्ष धर्मराज रिमालले गराएका छन्।

कान्तिपुर संवाददाता

Link copied successfully