काठमाडौँ — प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ ।
दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट फेनारगन ९ सय ६० एम्पुल, नोर्फिन ५ सय एम्पुल, डाइजेपाम ९ सय ८३ एम्पुल र बुप्रेनोर्फिन ४ सय ८७ एम्पुलसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट गरूडा नगरपालिका–९ रघुनाथपुर बस्ने राज किशोर सहनी र गौर नगरपालिका–४ टिकुलिया बस्ने सुखारिस सहनी रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ५४३७ नम्बरको सुमोमा खानतलासी गर्नेक्रममा दुवैलाई उक्त लागूऔषध सहित फेला पारेको हो ।
त्यस्तै, काठमाडौं महानगरपालिका–२६ पवित्रनगरबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्राम, नगद १ लाख ८० हजार रूपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–५ घर भएका रामहरी थापा, पर्वत पैयूं गाउँपालिका–६ घर भएका दिनेश आचार्य र काठमाडौं तार्केश्वर नगरपालिका–१० मनमैजु बस्ने झापा बाह्रदशी नगपालिका–२ का सचिन लम्साल रहेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
