काठमाडौँ — कान्ति लोकपथअन्तर्गत सातदोबाटो–ढोलाहिटी र चक्रपथ–लगनखेल सडक खण्डमा लेले टिकाभैरवबाट बग्ने राजकुलोको पानी ल्याउन पाइप बिछ्याउन ललितपुर महानगरपालिकाले खनेको सात महिना बितिसक्यो। तर अहिलेसम्म पनि कालोपत्र गरिएको छैन। बर्खा लाग्ने बेलासम्म पनि भत्काइएको सडक नबनाउँदा यात्रुहरूलाई सास्ती हुन थालेको छ। महानगरपालिकाले लापरबाही गरेको भन्दै स्थानीयबासीले गुनासाे गरिरहेका छन्।
महानगरपालिकाले राजकुलोको पानी लगनखेलस्थित सप्तपाताल र राजदल गणको परिसरमा रहेको पलेस्वाँ पोखरीमा ल्याउन यहाँ पाइप बिछ्याएको छ। पाइप बिछ्याउन लोटस कन्स्ट्रक्सन कम्पनीले महानगरपालिकासँग एक करोड २५ लाख रुपैयाँमा २०८१ असार २० गते ठेक्का पाएको थियो।
त्यस्तै, बिल्ड डोब बिल्ड्रर्स कम्पनीले कालोपत्र गर्न २०८१ चैत्र ६ गते ८८ लाख ७८ हजार रुपैयाँमा डिभिजन सडक कार्यालय ललितपुरसँग ठेक्का पाएको थियो । तर पाइप विछ्याएको लामो समय बितिसक्दा पनि यहाँ सडक कालोपत्र गरिएको छैन। जसका कारण सवारी दुर्घटना बढ्न थालेको छ।
अहिले उक्त सडक खण्डमा पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने गरेको छ। सर्वसाधारण जोखिम मोलेर आवतजावत गर्न बाध्य छन् । ट्राफिक प्रहरी परिसर सातदोबाटोका अनुसार यी सडकमा बैशाखमा मात्रै चार वटा सवारी दुर्घटनामा परेका छन्। पछिल्लो पटक बैशाख ९ गते लगनखेलस्थित बटुक भैरव मन्दिर क्षेत्रमा बा. प०२–०५६ प ८७७४ नम्बरको मोटरसाइकलले जेब्रा क्रसमा बाटो काट्दै गरेको पैदल यात्रीलाई ठक्कर दिएर घाइते बनाएको थियो ।
दुर्घटना बढ्दा र सर्वसाधारणले सास्ती खेप्नु पर्दा पनि सम्बन्धित निकाय ललितपुर महानगरपालिका र डिभिजन सडक कार्यालय ललितपुरले समयमा कालोपत्र गर्न पहल नगरेको स्थानीयको गुनासो छ । ढोलाहिटीका किराना पसल सञ्चालक मधु राइले धुवाँधुलोले गर्दा व्यवसायी संकटमा परेको मात्र नभई श्वासप्रश्वासमा समेत असर परेको बताइन् । ‘खनेर महिनौँसम्म बेवास्ता गर्दा अनावश्यक दुख पाइयो,’ उनले भनिन् ।
महानगरपालिकाका पूर्वाधार निर्माण महाशाखाका प्रमुख प्रदीप पौडेलले आफूहरूले समयमा काम सम्पन्न गरे पनि डिभिजन सडक कार्यालयले कालोपत्र गर्न ढिलाइ गरेको आरोप लगाए । डिभिजन सडक कार्यालय ललितपुरका प्रमुख गोपाल प्रसाद खकुरेलले भने ललितपुर महानगरपालिकाले सुरुमा कालोपत्र आफै गर्ने भनी भत्काएर त्यसै छोडेको र पछि मात्र आफूहरूलाई कालोपत्र गर्न दिएको बताए । ‘पानी नपरेमा अब केही दिनमा कालोपत्र गरिसक्छौँ,’ उनले भने ।
ललितपुर महानगरपालिका–१५ वडास्थित सप्तपाताल पोखरी १५ रोपनी र पले स्वाँ पोखरी ३० रोपनीमा फैलिएको छ । अस्तित्व गुमिसकेको सप्तपाताल पोखरीको पुरानै शैलीमा फर्काउन स्थानीय पूर्ण स्थापितलगायतले डेढ दशक लामो कानुनी लडेका थिए ।
