काठमाडौँ — उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वातावरण संरक्षण गर्ने जिम्मेवारी सबैकाे साझा दायित्व भएकाे बताएका छन् ।
काठमाडौं उपत्यका विकास प्राधिकरणले शुक्रबार गाेकर्णेश्वर ५, बागमती करिडाेरमा आयाेजना गरेकाे वृक्षरोपण कार्यक्रममा बाेल्दै उनले वातावरण संरक्षणमा सबैकाे भूमिका महत्वपूर्ण हुने बताएका हुन् ।
बागमतीलाई सफा र स्वच्छ बगाउन आफूले मन्त्रालय सम्हालेकाे दिनबाटै चासाे दिएकाे भन्दै उनले बाग्मतीसहित उपत्यकाका विष्णुमति, धाेविखाेला लगायतका सबै नदिलाई ढलमुक्त बनाउने गरी काम भइरहेकाे बताए ।
'नीतिगत रूपमा गर्नुपर्ने काम सरकााले गर्छ । तर, वृक्षराेपण गरेपछि रूख जाेगाउने काम अरूले गरिहाल्छन् नी भनेर हुँदैन । रूख जाेगाउन र नदीमा जथाभावी फाेहाेर मिसाउन नदिन स्थानीय समुदायले चासाे राख्नुपर्छ,' उनले भने ।
अहिलेकाे बजेटले पनि उपत्यका नदि स्वच्छ बनाउन र करिडाेर सडक स्तराेन्नती गर्न बजेटमा प्राथमिकता दिएकाे जानकारी दिए । शहरी विकास मन्त्रालयले बागमतीसहित उपत्यकाका नदि स्वच्छ बनाउन ३ अर्ब ४२ कराेड विनियाेजन गरेकाे छ ।
