काठमाडौँ — काभ्रेको बनेपाबाट काठमाडौंको तारकेश्वर नगरपालिका–३, तीनपिप्लेस्थित भुवनेश्वरी मन्दिर घुम्न आएका यात्रु सवार माईक्रो बस दुर्घटना हुँदा ८ जना यात्रु घाइते भएका छन् ।
बा १ ज ८६८५ नम्बरको माइक्रो उकालोमा ब्रेक फेल भई सडकबाट करिब १० मिटर तल खसेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए । घाइतेहरूलाई तत्काल उद्धार गरी मेगा ग्रिनसिटी अस्पतालमा उपचारका लागि लगिएको बोहराले जानकारी दिए । घाइतेहरू सबैको अवस्था सामान्य रहेको जनाइएको छ ।
घाइते हुनेहरूमा काभ्रे बनेपा नगरपालिका–१० का सुनिता खड्का, शारदा रावत, अनिता थापा, कान्छी खड्का, रामशोभा थापा, शान्ता खत्री, पार्वती काफ्ले र लक्ष्मी खड्का रहेका छन् । उनीहरूमा हात, खुट्टा, टाउको र ओठमा सामान्य चोट लागेको छ ।
दुर्घटनापछि सवारी चालक र माईक्रो बस घटनास्थलमै रहेका छन् । सवारी निकाल्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
