काठमाडौँ — संयुक्त राष्ट्रसंघको अभ्यासमार्फत युवाहरुको नेतृत्व विकास गर्ने उद्देश्यले राष्ट्रिय युवा परिषद्ले सञ्चालन गरेको नमुना संयुक्त राष्ट्रसंघीय अभ्यास कार्यक्रम सकिएको छ । कार्यक्रम बुधबार उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले ललितपुरमा उद्घाटन गरेका थिए ।
चार दिवसीय नमुना संयुक्त राष्ट्रसंघीय अभ्यासमा सहभागी युवाहरुलाई पाँच समितिमा विभाजन गरी विभिन्न कार्यसूचीहरूमा छलफल गराइएको थियो । नमुना संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्अन्तर्गत भोकमरी रोकथाम र गाजामा मानवीय सहायता पहुँच सुनिश्चित गर्ने एजेण्डामा छलफल भएको राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।
नमुना संयुक्त राष्ट्रसंघ महिला संगठनअन्तर्गत महिलाहरू तथा किशोरीहरूको प्रविधिको माध्यमबाट हुने मानव तस्करी र यौन शोषणको सामना गर्न अन्तर्राष्ट्रिय कानुनी संरचना र सहकार्यलाई सुदृढ बनाउने विषयमा छलफल गराइएको नमुना युवा महासचिव दिवससिह खड्काले जनाए ।
यसैगरी नमुना संयुक्त राष्ट्रसंघ शरणार्थी उच्चायुक्त कार्यालय अन्तर्गत लामो समयदेखि विस्थापित अवस्थामा रहेका मानिसहरूको संरक्षण र मानवीय सहायता पहुँचलाई सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।
नमुना संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठन अन्तर्गत विकासशील मुलुकहरूमा जलवायु अनुकूल तथा दिगो कृषि प्रणालीमार्फत खाद्य सुरक्षा र पोषण सुदृढ गर्ने एजेण्डामा छलफल भएको थियो ।
ज्येष्ठ १४ बाट १७ गतेसम्म चलेको अभ्यास कार्यक्रममा देशभरका ७५ जिल्लाबाट (१६–२४) उमेर समूहका सय जना युवा सहभागी थिए ।
