युवा परिषद्को चारदिने नमुना संयुक्त राष्ट्रसंघ सुरु

जेष्ठ १४, २०८२

कान्तिपुर संवाददाता

Youth Council's four-day Model United Nations begins

ललितपुर — राष्ट्रिय युवा परिषद्‌को आयोजनामा बुधबारदेखि चारदिने नमुना संयुक्त राष्ट्रसंघीय अभ्यास कार्यक्रम सुरु भएको छ । 

संयुक्त राष्ट्रसंघको अभ्यासमार्फत युवाहरुको नेतृत्व विकास गर्ने उद्देश्यले आयोजित कार्यक्रम जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्‌घाटन गरेका हुन् । कार्यक्रममा सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले नमुना संयुक्त राष्ट्रसंघको अभ्यासले नेपाली युवाहरुलाई अन्तर्राष्ट्रिय कूटनीति र नेतृत्व विकासमा महत्वपूर्ण टेवा पुग्ने बताए । उनले सरकारले युवा उद्यमशीलतामा जोड दिने गरी बजेट ल्याउने तयारी गरिहेको पनि बताए । 

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नमुना राष्ट्रसंघीय अभ्यासले युवाहरुको बहुआयामिक क्षमता विकासमा टेवा पुग्ने बताए । युवाहरुले नेतृत्व विकास गर्दै आत्मसम्मान, उद्यमशीलता, स्वआर्जन र स्टार्टअपमार्फत असल नागरिकको भूमिकामा आफूलाई उभ्याउन सक्नुपर्नेमा उनको जोड थियो ।

राष्ट्रिय युवा परिषद्‌का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले नवोदित युवाहरुलाई राष्ट्रसंघीय अभ्यास, दिगो विकास लक्ष्य, कूटनीतिक आयाम, साझा अन्तर्राष्ट्रिय सवाल, जलवायु परिवर्तन, मानवअधिकार, सुरक्षा परिषद् लगायतका विषयमा प्रशिक्षित गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । 

संयुक्त राष्ट्रसंघको नेपालस्थित आवासीय कार्यालयको तर्फबाट संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका आवासीय प्रतिनिधि क्योको योकोसुकाले नेपाली युवाहरुले राष्ट्रसंघीय अभ्यास बुझ्नु अत्यन्तै आवश्यक रहेको बताइन् । युवा पुस्ताले विश्व शान्ति र सद्भाव कायम राख्न महत्वपूर्ण भुमिका खेल्न सक्ने उनको भनाइ थियो । 

नमुना राष्ट्रसंघको महासचिव चुनिएका दिवससिंह खड्काले चार दिने अभ्यासमा राष्ट्रसंघ अन्तर्गतका  महिला समिति, सुरक्षा परिषद्, खाद्य तथा कृषि संगठन, संयुक्त राष्ट्र शरणार्थी उच्च आयोग र अन्तर्राष्ट्रिय प्रेससमेत गरी पाँचवटा समितिहरुमा अलग-अलग बहस तथा छलफल गरिने जानकारी दिए । 

नमुना अभ्यासको महानिर्देशकमा अनुराधा थापा चयन भएकी छिन् । जेठ १७ सम्म चल्ने कार्यक्रममा खुला अनलाइन आवेदनका आधारमा देशभरका ७५ जिल्लाबाट छानिएका १६–२४ उमेर समूहका १०० जना युवा सहभागी रहेको सहआयोजक ग्लोबल हेल्प फाउन्डेसनका अध्यक्ष सञ्जिव भट्टराईले जनाए ।

कान्तिपुर संवाददाता

Link copied successfully