काठमाडौँ — काठमाडौं महानगरापालिकाको कार्यपालिका बैठक आह्वान गर्न महानगरका कार्यपालिका सदस्यहरूले प्रमुख बालेन्द्र शाहलाई पत्र बुझाएका छन् ।
सोमबार महानगरका कार्यपालिका सदस्यहरूले प्रमुख शाहलाई आगामी आर्थिक वर्षका लागि योजना पेश गर्न चाँडै कार्यपालिकाको बैठक राख्न अनुरोध गरेको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।
‘हामीले नगर सभा राखिदिनु होला भनेर मेयरसापलाई पत्र पठाएका छौं,’ उनले भने, ‘बजेटमा योजना पेश गर्न नै कार्यपालिका बैठक माग गरेका हौं । अब उहाँले बोलाउनुहुन्छ होला ।’
महानगरको २०८१ पुस १४ मा नगर सभाको १६औं अधिवेशन बसेको थियो भने २०८१ मंसिर २३ मा ३७औं नगर कार्यपालिका बैठक बसेको थियो । त्यसयता महानगरको सभा तथा कार्यपालिका बैठक बस्न सकेको छैन ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले नगर प्रमुखले सभा तथा कार्यपालिकाको बैठक बोलाउने र बैठकको अध्यक्षता गर्ने व्यवस्था गरेको छ । सोही ऐनले कार्यपालिकाको बैठक कम्तिमा महिनाको एक पटक बस्ने व्यवस्था गरेको छ । यसैगरी महानगरले कार्यपालिका बैठक सञ्चालनका लागि ‘काठमाडौं महानगरपालिका, नगरसभा सञ्चालन कार्यविधि, २०७४’ तयार पारेको छ । बैठकको सुव्यवस्था कायम राख्न, आवश्यक समितिहरुको गठन गर्न र अन्य काम कारबाही नियमित एवं प्रभावकारी बनाउन यो कार्यविधि ल्याइएको हो । तर महानगरको गत मंसिरदेखि कार्यपालिका बैठक बस्न सकेको छैन ।
सोही कार्यविधि अनुसार सभाको अधिवेशन महानगरको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको एक मितिले एक महिनाभित्र अध्यक्ष अर्थात महानगर प्रमुखले बोलाउनेछ । अध्यक्षले कार्यसूची बमोजिम सभाको बैठकको सञ्चालन र अन्त्य गर्ने व्यवस्था कार्यविधिमा छ ।
सभाको अधिवेशन चालू नगरेको वा बैठक स्थगित भएको अवस्थामा बैठक बोलाउन उयपुक्त छ भनी सभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाई सदस्यहरुको लिखित अनुरोध गरेमा अध्यक्षले त्यस्तो बैठक बस्ने मिति र स्थान तोक्नेछ । त्यसरी तोकिएको मिति, समय र स्थानमा सभाको अधिवेशन बस्नेछ ।
सामान्यतः निर्वाचनपछिको पहिलो अधिवेशनको अवधि बढीमा १५ दिन र सोपछिको प्रत्येक अधिवेशनको अवधि बढीमा ७ दिनको हुनेछ । तर सभाको एउटा अधिवेसनको समाप्ति र अर्को बैठकको प्रारम्भबीचको अवधि छ महिनाभन्दा बढी नहुने कार्यविधिमा छ ।
यसैगरी स्थानीय सरकार सञ्चालन ऐन, २०२४ को दफा ७१ मा आगामी आर्थिक वर्षको राजश्व र व्यव (बजेट) को अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गतेभित्र सभामा पेश गर्नुपर्ने व्यवस्था छ । महानगरमा देखिएका समस्या समाधान पनि समाधान गर्न कार्यपालिका सदस्यहरूले बैठक राख्न अनुरोध गरेको प्रवक्ता मानन्धरले बताए ।
‘महानगरमा देखिएका पछिल्लो घटनाक्रमले बैठक नगर्ने भन्ने हुँदैन,’ उनले भने, ‘त्यसको समाधानका लागि बैठक बस्नुपर्छ । त्यसैको लागि कार्यपालिकाको बैठक माग गरेका हौं ।’
