काठमाडौँ — काठमाडौं महानगरपालिकाले २१६ वटा सडकको नयाँ नाम राख्ने भएको छ। महानगरभित्र रहेका सडक पुराना नामलाई संशोधन गरी नयाँ नामाकरण गरिएको हो। महानगरको सूचना तथा प्रविधि महाशाखाका प्रमुख अशोक श्रेष्ठका अनुसार अहिलेसम्म ३२ वडामध्ये १८ वडाबाट २१६ वटा सडकको नयाँ नामाकरण गरिएको छ।
‘१८ वडाबाट मात्र वडा समितिबाट नाम अनुमोदन भएको छ,’ उनले भने, ‘अब यसपछि एक मुष्ठ रूपमा सबै वडाको महानगरको भवन व्यवस्था समितिबाट पारित हुन बाँकी छ । कार्यपालिकाले अन्तिम पारित गरेपछि हामी नामहरू सार्वजनिक गर्छौ ।’
वडा नं. १, २, ८, ९, ११, १२, १४, १६, १८, १९, २०, २१, २४, २५, २७, २८, २९ र ३० बाट वडा समितिले सडकको नयाँ नाम अनुमोदन गरी पठाइसकेका छन्। वडा नम्बर ६, २२, २३, २६ र ३२ मा भने छलफल चलिरहेको छ।
अन्य वडामा नक्सामाथि छलफल चलिरहेको महानगरले जानकारी दिएको छ। महानगरले १ हजार ३७ वटा पुराना नामलाई प्रमाणित गर्दै नाम नभएका सडकको नयाँ नाम अनुमोदन गरेको हो।
सबै वडाले सडकका नयाँ र संशोधित नाम स्वीकृत गरेपछि काठमाडौं उपत्यका म्यापिङ् कार्यक्रमबाट नामाकरण भइसकेका सडकलाई एकीकृत गर्ने, सडकको मौलिक र बैज्ञानिक नामाकरण गर्ने, सडकसँग जोडिएका संरचना र पूर्वाधारको विवरण संकलन तथा नक्साङ्कन गरिनेछ । यही लक्ष्य अनुसार महानगरले काम गरिरहेको हो ।
यसरी पथ, सडक, मार्ग र गल्लीको नक्साङ्कन तथा नामाकरणबाट इन्भेन्ट्री (सूची) तयार गर्ने, सडक र सडक सञ्जालको मौलिक र वैज्ञानिक नाम, सडकसाग सम्बन्धित योजना, फोहरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन, आपतकालीन द्रुत सेवालगायत क्षेत्रका तथ्य र तथ्याङ्क प्राप्त हुने महानगरले जानकारी दिएको छ ।
नक्सामा महानगरपालिकाभित्र १ हजार ४९ किलोमिटर सडक देखिएको महानगर सूचना प्रविधि महाशाखा प्रमुख श्रेष्ठले बताए । यसभित्र पथ, सडक, मार्ग र गल्ली ४ हजार ९७७ वटा छन् । उनका अनुसार यीमध्ये २ हजार ४१६ वटाको नाम दिइएको छ भने २ हजार ५६१ वटाको नाम दिइएको छैन ।
सडकको इन्भेन्ट्री (सूची) तयार गर्ने, वैज्ञानिक र मौलिक नामाकरण गर्ने तथा सडकसँग सम्बन्धित पूर्वाधार अभिलेखन गर्न भौगोलिक सूचना प्रणाली (जिआइएस) मा आधारित नक्साङ्कनपछि नयाँ नाम राख्ने काम भइरहेको हो । २०८१ पुस ९ गतेदेखि ५ जना भौगोलिक सूचना प्रणाली इञ्जिनियर र ५ जना सिनियर सर्भेयरबाट नक्साङ्कनको काम थालिएको हो ।
महाशाखा प्रमुख श्रेष्ठका अनुसार महानगरपालिकाले २०५८ सालमा काठमाडौं उपत्यका म्यापिङ् कार्यक्रमबाट संकलन गरिएको तथ्याङ्क, अहिले गरिएको ड्रोन म्यापिङ् (अर्थोफोटो) का आधारमा सबै वडाको वडागत नक्सा प्रिन्ट भएको छ । नक्सामा नाम भएका र नाम नभएका सडकलाई संकेत गरिएको छ । यो संकेतका आधारमा वडास्तरीय छलफलबाट पुरानालाई अनुमोदन गर्ने र नयाँ नामलाई वडाबाट अनुमोदन गराउने काम भइरहेको छ ।
२०५८ सालमा सञ्चालन भएको काठमाडौं उपत्यका म्यापिङ् कार्यक्रमबाट पथ, सडक, मार्ग र गल्ली गरी २ हजार ५७८ वटा नामाङ्कन र नक्साङ्न गरिएको थियो । ८० हजार घरधुरीलाई मेट्रिक सिस्टममा आधारित नम्बर प्रदान गरिएको थियो ।
